आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : केउरानी,भेडाबारी र बरटाँडी विजयी

    प्रकाशित २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार केउरानी,भेडाबारी र बरटाँडी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको केउरानी र नमुना युवा क्लबबीच भएको पहिलो खेलमा केउरानी १-० गोल अन्तरले विजयी भएको छ। खेलमा केउरानीबाट आदित्य देवकोटाले गोल गरेका थिए। भेडाबारी र नवरङ्गी युथ क्लबबीच भएको दोस्रो खेलको निर्धारित समयमा बराबरी (०-०) गोल हुँदै ट्राईबेकरमा भेडाबारी ४-३ गोल अन्तरले विजयी भएको छ । त्यस्तै बरटाँडी युवा क्लब र जनजागृती क्लब, विशालटारबीच भएको तेस्रो खेलमा बरटाँडी युवा क्लब ८-० गोल अन्तरले विजयी भएको छ। बरटाँडी युवा क्लबका तर्फबाट दोर्जे लामाले ५ गोल ,जित मगर,शनि तामाङ र आशिष कंडेलले १/१ गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलि शुक्रबारको खेल गैंडाकोट फुटबल क्लब र फारम खेलकुद समिति, गोडार युथ क्लब र शारदानगर फुटबल क्लब साथै देवघाट फुटबल क्लब र चोरमारा युवा क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment