आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नेतृत्वमा पुगेका महिलाको अनुभव : दृढ संकल्पले नै भविष्य निर्माण गर्न सकिन्छ

    प्रकाशित २०७८ आश्विन २६, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी,देवचुली । विभिन्न क्षेत्रमा रहेर नेतृत्व सम्हालेका तथा महिलाको अधिकारका लागि लागेर सामाजिक रुपमा सक्रिय पूर्वी नवलपरासीका महिला र किशोरीहरुबीच अन्तरसंवाद तथा अनुभव आदान प्रदान कार्यक्रम सोमबार देवचुली नगरपालिकामा भएको छ ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर जागृती बाल तथा यूवा सरोकार नेपाल , क्रियाशील पत्रकार महिला नवलपुर , गल्स नवलपुर नेटवर्क लगायत विभिन्न संघसंस्थाको आयोजना तथा कन्नालनको सहयोगमा भएको कार्यक्रममा जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे,नेपाल पत्रकार महासंघ नवलपुरका महिला उपाध्यक्ष मुना दाहाल , एच. आई. भि.संक्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बीनी पलसका अध्यक्ष निर्मला पौडेल , शिक्षक चन्दा न्यौपाने , फुटवल खेलाडी सान्तवना पुन , गण्डकी प्रदेश बाल परिषद सचिव आश्मा अर्यालले आफ्नो अनुभवनका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आफुले दृढ संकल्प लिएर कुनै पनि काममा अगाडी बढ्छु भन्ने हो भने , आर्थिक कुराले रोकिनु नपर्ने बताउनुभयो । कुनै पनि कामलाई म सक्दिन भनेर भन्नै नहुने भन्दै उहाँले जस्तोसुकै काम गर्ने आँट गर्न किशोरीहरुलाई सुझाव दिनुभयो । उहाँले आफु सामान्य परिवारमा जन्मेको हुँदा धेरै दुःख कष्ट गरेर पढेको अनुभव सुनाउनुभयो । तत्कालीन समयमा महिलाले पढ्न हुन्न र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको धारणालाई चिर्न धेरै संघर्ष गर्नुपरेको उहाँले सुनाउनुभयो । आर्थिक अभावकै बीचमा पढाईलाई निरनन्ताता दिदै आज जिल्लाको नेतृत्व लिने तहमा पुगेको उहाँले बताउनुभयो । आफुले गरेको उपलब्धी सुनाउँदै उहाँले आफ्नो पहिलो उपलब्धी भनेको तमासपुरको भूपु गाउँमा तत्कालीन समयमा महिलाले खोप लगाउने वातावरण बनाउन सफल भएको , महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउने काम थालनी गरेको बताउनुभयो ।
यस्तै हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले पनि आफ्ना संघर्षका कथा सुनाउनुभएको थियो । ग्रामिण भेगमा जन्मेर छोरीचेलीले पढ्ने , त्यसमाथी राजनीति गर्ने सपना देख्नु नै ठूलो कुरा हुने त्यो, समयमा पढाईलाई निरन्तरता दिन समेत निकै समस्या भएको उहाँले अनुभव सुनाउनुभएको थियो । विवाहपछि पनि पढाईलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । तत्कालीन समयमा बुहारीले पढ्न निकै गाह्रो थियो । उहाँले भन्नुभयो  ‘बिहान चार बजेर उठेर दैलोकूचो गरी घरधन्दा सकेर मात्रै क्याम्पस पढ्न जानुपरथ्यो , अहिलेको जस्तो सहज समय थिएन । महिलाहरु खुलेर हिड्न बोल्न पाईदैनथ्यो, बोल्यो भने उछृङखल भई भन्थे , त्यस्तो समय र परिस्थीतको सामाना गरेर आज यहाँसम्म आएको छु । ’ उहाँले आफुलाई राजनीतिमा लाग्ने ठूलो ईच्छा हुँदाहुँदै पनि लामो समयसम्म घरपरिवार र छोराछोरीका कारण सक्रिय रुपमा लाग्न नसकेको बताउनुभयो । आर्थिक अभावकै कारण राजनीति गर्ने ईच्छा हुँदाहुँदै पनि शिक्षण पेशा अंगालेको उहाँले बताउनुभयो । तर , ईच्छाशक्ति नै ठूलो कुरा रहेको भन्दै उहाँले विभिन्न दुःखकष्टलाई पार गर्दै आज आफ्नो लक्ष्यमा पुग्न सफल भएको बताउनुभयो । उहाँले महिला नेतृत्वमा पुगेमा महिलाका हक अधिकार सुनिश्चित हुने भएकाले सहभागि किशोरीहरुलाई नेतृत्व गर्छु भन्ने योजनाका साथ संकल्प लिएर अहिल्यैदेखि अगि बढ्न प्रेरित गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्नुभएका महिलाहरुले महिला भएकै कारण समुदायले हेर्ने दृष्टिकोण फरक हुँदा , महिलालाई हरेक कुरामा रोक्ने सामाजिक मूल्यमान्यताले पनि अगि बढ्न धेरै संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभएको थियो । तर, हरेस नखाएर , आँट हिम्मत गरेकै कारण आज आफुहरु मञ्च अगाडी आएर अरुका लागि प्रेरणा दिन सक्ने बनेको बताउनुभयो । किशोरीहरुलाई पनि उहाँहरुले समस्या आउँछन् तर , समस्याको सामना गर्दै हिम्मतका साथ आफ्नो लक्ष्य प्राप्तीका लागि लड्न आग्रह गनुभयो । पुरुषको तुलनामा महिलालाई आफ्नो भविश्य निर्माण गर्न सहज नभएकाले , असहज परिस्थीतबाट भाग्ने नभई डटेर सामाना गर्दै आफ्नो लक्ष्यमा पुग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनीधि मुलक रुपमा १३ देखि २२ वर्ष उमेर समूहका किशोरीहरुको सहभागिता रहेको थियो । भविश्य निर्माण गर्नेक्रममा रहेका किशोरीहरुलाई मार्ग दर्शन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । नेतृत्व तहमा पुगेका महिलाहरुका अनुभव र प्रेरणाले किशोरीहरुलाई उर्जा प्रदान गर्ने भएकाले यस प्रारको कार्यक्रम आयोजना गरिएको जागृती बाल तथा यूवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षमा भएको कार्यक्रमा चङ्गा फाउन्डेशनकी कोषध्यक्ष निरुता खत्रीले स्वागत तथा कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला नवलपुरकी सचिव राधिका भुषाल र गल्स नवलपुर नेटवर्ककी विद्या ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment