आज:  २०८१ आश्विन १८, शुक्रबार | Fri, 04, Oct, 2024 Search
FLASH NEWS

दुम्किबास त्रिवेणी सडकलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री नेपालीको प्रधानमन्त्रीलाई आग्रह

    प्रकाशित २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे ।

यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’ प्रदेश सरकारले आफ्नो सामर्थ्य अनुसार कार्यसम्पादन त गरिरहेको भन्दै कतिपय अवस्थामा मागका तुलनामा स्रोत अपुग हुँदा प्रदेशका लागि अत्यावश्यक कामहरु सुरु गर्न सकिएको उनले जानकारी गराए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारको क्रियाकलापका विषयमा चासो राख्दै आवश्यक बजेट विनियोजनका लागि प्रतिबद्धता जनाएका छन् । उनले फेवातालको संरक्षणमा विशेष जिज्ञाशा राखेका थिए ।

प्रदेशकै सर्वाधिक महत्वको सडक दुम्कीवास त्रिवेणी सडक खण्ड निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज वाधक भएको भन्दै मुख्यमन्त्री पोखरेलले करिब ८ किलोमिटर खण्डमा सुरुङ मार्ग निर्मााण्का लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सभाको भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र यसका लागि ७५ करोड लाग्ने सहयोगको अपेक्षा गरे । प्रदेशका रणनीतिक महत्वका (स्थानीय तहको केन्द्र जोड्ने ) सडकमध्ये ३ सय ३९ किलोमिटर निर्माणाधीन अवस्थामा छन् । निर्माणका लागि डिपिआर भइसकेको २ सय ८७ किलोमिटर सडक रहेको र यी दुवै खालका सडक निर्माणका लागि १४ अर्ब ३५ करोड रुपैयाँ चाहिनेमा बहुवर्षे प्रकृतिका यी योजनाका लागि चालु आवमा ३ अर्ब आवश्यक परेको उनले बताए ।डिपिआर भइसकेका ५० मोटरेबल पुलका लागि अनुमानित बजेट ३ अर्ब लाग्नेमा यस आवका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने जानकारी मुख्यमन्त्री पोखरेलले बताए ।
ठेक्का लागिसकेका कार्यक्रम सम्पन्न गर्न ७ अर्ब आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि ४ अर्ब अपुग रहेको उनले बुझाएको पत्रमा उल्लेख छ । उनले भनेका छन्, ‘संघले हतान्तरण गरेका योजनाका लागि ५ अर्ब रुपैयाँमध्ये न्यूनतम हालका लागि कम्तीमा पनि ३ अर्ब रुपैयाँ आवश्यक छ ।’ संघबाट हस्तान्तरण भइ आएका सशर्तका योजना सम्पन्न गर्न पनि ७० करोड रुपैयाँ अपुग रहेको उनले बताए । प्रदेशले सञ्चालन गरेका र गर्ने योजनाका लागि २९ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्नेमा चालु आर्थिक वर्षका लागि ११ अर्ब ४५ करोड रुपैयाँ चाहिएकाले रकम निकाशाका लागि सहजीकरण गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग अनुरोध गरे । मुख्यमन्त्री पोखरेलका अनुसार संघ सरकारले गत आर्थिक वर्षमा वित्तीय समानीकरण अन्तर्गत ७ अर्ब ११ करोड २६ करोड रुपैयाँ उपलब्ध गराएको छ । समपूरक अन्तर्गत १ अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड रुपैयाँ प्राप्त भएको छ । यी ३ शीर्षकमा तोकिए अनुसार नै रकम आएको छ । सशर्तमा केही बढेर ४ अर्ब ८२ करोड रुपैयाँ आएको उनले बताए । राजश्वतर्फ भने ७ अर्ब ५७ करोड ३६ लाख मध्ये १ अर्ब ८ करोड रुपैयाँ कम आएको भन्दै उनले भने, ‘रकम कम आउँदा प्रदेशका योजना प्रभावित भएका छन् ।’

अर्थमन्त्री जनर्दन शर्माले प्रदेशका योजनाका लागि बजेट व्यवस्थापन गर्न संघ सरकार संवेदनशील रहेको बताए । यसका लागि मुख्यमन्त्री र प्रदेशका अर्थ मन्त्रीहरुलाई सँगै राखेर छलफल गर्ने र प्रदेशका आवश्यकता पूरा गर्न प्रयास गरिने बताए ।
अर्थमन्त्री शर्माले सडकका लागि जथाभावी बजेट व्यस्थापन भन्दै यसको नियन्त्रणका लागि सडकको वास्तविक अवस्था पत्ता लगाउन भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मा दिएको भनाइ राखे ।

अघिल्लो सरकारले ल्याएको बजेटमा अहिले २.८ प्रतिशत मात्र तलमाथि पारेको भन्दै बाँकी बजेट जस्ताको तस्तै राखिको बताए । स्रोत सुनिश्चितता नभएका योजना मात्र खारेज गरिएको उनले जानकारी गराए । अहिले सरकारले राजश्व वृद्धिमा विशेष जोड दिएको र सुरुआती महिनामै यसमा राम्रो संकेत देखिएको भनाइ राखे ।

Write your Comment