आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

महिला र प्रविधि

    प्रकाशित २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)


आजको युग भनेको प्रविधिको युग हो। हामी जहाँ जान्छौ जे गर्छौ सबै प्रविधि मार्फत नै गर्छाै। आहिले प्रविधिले यति धेरै सुविधा दिएको छ कि पहिला घण्टौं लाइनमा बसेर बिजुली,खानेपानीको बिल तिर्थ्यौ भने अहिले प्रविधिले गर्दा घर बसीबसी सजिलैसंग तिर्न सक्छौ।प्रविधिकै माध्यमबाट हामीले देशभित्रको मात्र नभई देश बाहिरको सूचना पनि सजिलैसंग थाहा पाउन सक्छौं। अहिले विश्वभर सूचना प्रविधिले उच्च स्थान लिइरहँदा महिलाहरुले पनि यस क्षेत्रमा आफूलाई निखार्दै सफल मात्र होइन , अब्बल नै साबित गरिरहेका छन्।
आजको युगमा प्रविधिले मानिसको दैनिक जीवनमा प्रवेश गरिसकेको छ।धेरैजसो मानिसहरूले प्रविधि मै आफ्नो करियर देख्ने गरेका छन्। कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अध्ययनपछि सहजै आकर्षक कमाई हुने जागिर पनि पाइने र घरमै बसीबसी समेत काम गर्न सकिने भएकोले प्रविधि (IT) शिक्षा तर्फ महिलाहरु सक्रिय भएका छन् या भनौं आईटी शिक्षामा धेरै संख्यामा महिलाहरु पनि उपस्थित भई अध्ययन गरिरहेका छन्। अहिलेको अवस्थामा पुरुषहरूले मात्र नभई महिलाहरुले पनि सूचना प्रविधि सम्बन्धी शिक्षा लिँदै आईरहेका छन। जुनसुकै ठाउँबाट पनि सजिलै काम गर्न मिल्ने भएकोले पढाइमा र व्यवसायमा पनि बिस्तारै महिलाहरुको संख्या बढ्न थालेको छ। महिलाहरुलाई उच्च शिक्षा मात्र नभई प्रविधि शिक्षा पनि दिन सकियो भने उनीहरु प्रविधि तर्फ पनि जानकार हुन्छन् र उनिहरुले प्रविधि सम्बन्धी उच्च शिक्षा हासिल गरिसकेपछि उनीहरु आत्मनिर्भर भएर सहजैसंग आफ्नो जीवनयापन गर्न सक्छन्।
प्रविधिले यति धेरै फडको मरिसकेको बेला महिलालाई पनि प्रविधिसंग परिचित गराउन सकियो भने उनीहरुले आफ्नो साथसाथै घर,समाज र देशकै लागि अमूल्य योगदान पुर्‍याउन सक्छन्। अहिलेको २१ औं शताब्दीमा आएर पनि कति ग्रामिण क्षेत्रमा महिलालाई अन्याय, हिंसा गरिन्छ भने कतिपय ठाउँहरूमा शिक्षा र प्रविधिको विकासको कारणले मानिसहरूलाई समानताको महत्त्व सिकाउन थालेको छ जसले गर्दा सहर बजारका किशोरी तथा महिलाहरुले शिक्षा र प्रविधिसंग नजिक हुने अवसर पाएका छन्। जसको कारणले अहिले विभिन्न क्षेत्रमा महिलाहरु आफूलाई अब्बल साबित गर्न सफल भइसकेका छन्।
यदि महिलाहरुले पनि पुरुष सरह सम्मान अवसर पाउने हो भने उनिहरुले पनि जुनसुकै क्षेत्रमा जुनसुकै काम कुशलतापूर्वक गर्न सक्छन् र आफ्नो देशलाई विश्वमाझ नैं चिनाउन सक्छन् भन्ने कुराको उदाहरण दिइसकेका छन्।तर यस्तो अवसर पाउने महिलाहरुको संख्या भने एकदमै न्यून रहेको छ,जसले गर्दा अरू महिलाहरु अझै पनि पछि नै छन् र उनिहरूको आवाज दबिएको छ। त्यसैले गाँउ गाँउ र टोल टोलका हरेक नारीलाई शिक्षा,रोजगारी र प्राविधिक ज्ञानको अवसर दिनु आवश्यक छ।यसले महिलाहरुलाई आफ्नो पहिचान निर्माण गर्न मद्दत पुर्याउँछ। प्रविधिको प्रयोग गरेर महिलाहरुले आफ्नो लागि अवसरको खोजी पनि गर्न सक्छन्। यसरी प्रविधिमा महिलाहरुको पहुँच हुन सकेमा प्रगति गर्ने अवसर मिल्छ र आफ्नो पहिचान बनाउन सफल हुन्छन्।यसकारण महिला सशक्तिकरणको लागि पनि प्रविधिको ज्ञान अति नै आवश्यक छ।

(बिन्जु अर्याल, ट्याग किशोरी
झुवानी सामुदायिक पुस्तकालय)

Write your Comment