आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

समृद्ध गण्डकी प्रदेश मुख्य प्राथमिकता : मुख्यमन्त्री नेपाली

    प्रकाशित २०७८ श्रावण ३, आईतबार (२ साल अघि)


ज्ञानु पंगेनी, नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सुखी र समृद्ध गण्डकी प्रदेश निर्माण गर्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । हरेक क्षेत्रको विकास गरि प्रदेशलाई समृद्ध बनाउने ध्येयमा सरकार लाग्ने उहाँले बताउनुभयो ।
आईतबार गृह जिल्ला पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काङग्रेस जिल्ला समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले अहिलेको कोभिड – १९ को महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराउने काममा पहल गरिरहेको बताउनुभयो । ‘अहिले केन्द्रबाट मात्रै खोप आएको छ । प्रदेशले सिधै खोप किन्न सकेको छैन् । प्रदेशले सिधै खोप खरीद गर्ने प्रयत्नमा लागेका छौँ । ’ नेपालीले भन्नुभयो ।
यस्तै प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो लगायतका विपदले जनजिवन प्रभावित भएकाले विपद न्युनीकरण र विपदमा परेका नागरिकको व्यवस्थापन गर्न सरकार नचुक्ने बताउनुभयो । उहाँले मनाङ , मुस्ताङ , गोरखाका विकट क्षेत्रमा हेलिकोप्टर बाटै राहत , उद्धारका काम गरिएको बताउदै भन्नुभयो – ‘प्राकृतिक विपत्तिबाट विस्थापितहरुको व्यवस्थापनमा कुनै पनि कुराको अभाव हुने छैन् । सरकारले जसरी पनि व्यवस्थापन गर्छ । ’
यस्तै उहाँले उत्तर र दक्षिण सिमा जोड्ने सडकलाई पहिलो प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताउनुभयो । दुम्किवास त्रिवेणी जोड्ने सडक निर्माण गर्न निकुञ्जसंग समन्वय गर्ने , यदि निकुञ्ज सहमत नभए अन्य विकल्पबाट भए पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नवलपुर आफ्नो गृह जिल्ला भएकाले यहाँको विकासको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले नेपाली काङग्रेसले नेतृत्व गर्‍यो भन्ने सन्देश गण्डकी प्रदेशले दिनु राम्रो पक्ष भएको बताउनुभयो । यो काङग्रेसका लागि अवसर संगै ठूलो चुनौती समेत रहेको बताउनुभयो । उहाँले राजनितीमा धैर्यता र निरन्तरता भएमा अवसर पाईन्छ भन्ने कुराको उदाहरण आज आफुले दिएको जिकिर गर्नुभयो ।
मुख्यमन्त्री बनेपछि नेपाली पहिलो पटक दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला आउनुभएको हो ।
दुई दिन जिल्ला रहँदा उहाँले कार्यकर्ता भेटघाट, गठबन्धन पार्टीका जिल्ला स्तरका नेताहरुसँगको भेटघाटदेखि सरकारी भवन उद्घाटन, यहाँका सरकारी कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफल गर्ने लगायतको कार्यतालिका रहेको छ । उहाँ गण्डकी प्रदेशको भारतसँग जोडिएको नाका त्रिवेणीसम्म पुग्ने तालिका छ ।
आइतबार मुख्य मन्त्री नेपालीलाई राष्ट्रिय जनमोर्चा जिल्ला समितिले मुख्यमन्त्री भएकोमा बधाई तथा शुभकामना दिंदै ७ बुँदे अनुरोध पत्र पेश गरेको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढीपीडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र पेश गर्नुभएको हो ।

Write your Comment