आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

क्षेत्री दम्पतिद्वारा भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

    प्रकाशित २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)


भरतपुर। कोरोना महामारीका बीचमा अस्पतालहरूमा देखिएको उपचार असहजतालाई सहज बनाउन सहयोगी हातहरू सक्रिय बनिरहेका समाचारहरू आइरहेका छन् । यसैक्रममा भरतपुर- ५ कैलाशनगर निवासी शैक्षिक एवम् साहित्यिक व्यक्तित्व एलबी क्षेत्री र उहाँकी धर्मपत्नी मीना लामिछानेले भरतपुर अस्पताललाई उपचारक्रममा प्रयोगमा आउने स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।
शनिबार एक समारोहबीच अस्पतालमै पुगेर क्षेत्री दम्पतिले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई १०० सेट पीपीइ, १५० थान फेस सिल्ड, १०० थान सर्जिकल तथा एन९५ मास्क र ग्लोभ्स् गरि करिब २ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएका हुन् ।
स्वास्थ्य सुरक्षा सम्बन्धि सामग्री ग्रहण गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले स्वतस्फूर्त रूपमा प्राप्त सहयोगले स्वास्थ्यकर्मीहरूलाई आफ्नो पेशामा थप जिम्मेवारी बन्न सहयोग पुगेको धारणा राखे । `कोरोना महामारीका कारण मुलुक आक्रान्त बनिरहेको छ । कैयौं कोरोना संक्रमित घरमै र अस्पतालमा उपचाररत छन्´ डाक्टर अधिकारीले भने- `महामारी भएकै कारण संक्रमितलाई उपचारमा सहजता छैन । स्वास्थ्यकर्मीलाई पनि उपचारक्रममा खटिन सजिलो छैन । यी र यस्तै खाले सहयोगले बिरामीको उपचारमा ठूलो टेवा पुग्नेछ ।´ डाक्टर अधिकारीले अस्पताल प्रशासनको तर्फबाट क्षेत्री परिवारलाई धन्यवाद पनि दिए ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले प्राप्त भएका यी सामग्रीलाई कोरोना संक्रमित बिरामीको तत्कालको उपचारमा उचित ठाउँमा प्रयोग गरिने बताए ।
सामग्री हस्तान्तरणपछि बोल्दै एलबी क्षेत्रीले लोककल्याणकारी कर्ममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । `समाचारहरूमा कोरोना भाइरस संक्रमित दाजुभाइ, दिदीबहिनीहरूले उपचारक्रममा सहजता नपाएको सुन्दा अत्यन्तै दु:ख लागेको थियो´ क्षेत्रीले अगाडि भने- `उहाँहरूकै उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा हामी सन्तुष्ट भएका छौँ ।´ क्षेत्री वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । उनी कविडाँडा साहित्य समाजका अध्यक्ष हुन् । क्षेत्री दम्पति पछिल्लो समय साहित्य सेवा सँगसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन् ।
सामग्री हस्तान्तरण समारोहलाई भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले सहजीकरण गरेका थिए । समारोहमा भरतपुर अस्पतालका प्रवक्ता डा. युवानिधि बसौला, डा.सुनिलमणि पोखरेल, डा.यदुनाथ शर्मालगायतको सहभागिता थियो ।

Write your Comment