आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

    प्रकाशित २०७८ जेष्ठ ६, बिहिबार (३ साल अघि)


ज्ञानु पंगेनी, कावासोती । पूर्वी नवलपरासीको कावासोती – १६ स्थीत मध्यविन्दु जिल्ला अस्पतालमा बुधबारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

प्लान्टको संघीय सासंद तिलक महतले स्वीच थिचेर उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै अहिले प्लान्टको स्तर उन्नती गरेर क्षमता बढाउनेमा आफु लाग्ने बताउनुभयो । यसका लागि सबै सरोकारवाला पनि लाग्न जरुरी भएको बताउनुभयो ।

यहाँ अहिले दैनिक १७ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । प्लान्टबाट पाईपलाईन मार्फत् २० वटा वेडमा अक्सिजन पुर्‍याईएको अस्पतालका मे. सु. डा. बीरबहादुर थापाले जानकारी दिनुभयो । अस्पतालमा नै अक्सिजन उत्पादन सुरु भएपछि अब अक्सिजनको अभाव नहुने डा. थापाले बताउनुभयो । अहिले अस्पतालमा दैनिक रुपमा करीब ३५ सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । खपत हुने अक्सिजनको परिमाणमा आधा जसो प्लान्टबाट नै उत्पादन हुने भएपछि अब अक्सिजनका लागि धेरै दौडधुप गर्न नपर्ने बताउनुभयो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसंगै जिल्ला अस्पतालमा २० वेडको एचडियु ( मिनी आईसियु ) समेत सञ्चालनमा आएको उहाँले बताउनुभयो । अहिले जिल्ला अस्पतालमा ४० वेड कोभिड – १९ संक्रमितको लागि छुट्याईएको छ ।

प्लान्टका लागि ३८ लाख र पाईपलाईनका लागि १९ लाख रुपिँया गण्डकी प्रदेश सरकारले सहयोग उपलब्ध गराएको हो । प्लान्ट यस अघि नै जडान भएको भए पनि उत्पादन हुन सकेको थिएन । अहिले कोभिड – १९ को महामारीले अक्सिजनको अभाव देखिएपछि तत्कालै उत्पादन सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अहिले जिल्ला प्रशासनले अक्सिजन अभाव हुन नदिनका लागि दिनरात लागिपरेको बताउनुभयो । जिल्ला अस्पतालमा नै अक्सिजन उत्पादन सुरु भएपछि धेरै राहत मिलेको बताउनुभयो । उहाँले अब यस प्लान्टको क्षमता विकासका लागि केन्द्रबाट समेत सहयोगका लागि पहल गर्न संघीय सासंद महतलाई अनुरोध गर्नुभयो । प्लान्ट सञ्चालन गर्न सबै तह र तप्काबाट सहयोग भएको भन्दै उहाँले अस्पतालको विकासका लागि सबै मिलेर लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश मल्ल , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव प्रसाद चापागाईं , उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराम पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

Write your Comment