आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

सामुदायिक विकासका लागि सेवा निवृत्तले पहल गर्नुपर्छ – जिसस प्रमुख आले

    प्रकाशित २०७७ चैत्र १, आईतबार (३ साल अघि)


ज्ञानु पंगेनी,नवलपुर । जिल्ला समन्वय समिती नवलपुरका प्रमुख चेसराम आलेले सबै सेवा निवृत्तहरुलाई समेट्नु मात्रै ठूलो कुरा नभएर सामाज र सामुदायिक विकास निर्माणका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।सेवा निवृत्त राष्ट्रसेवक संघ नवलपुरको कावासोती – १६ डण्डामा शनिबार भएको दोश्रो साधारसभामा प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सेवा निवृत्त राष्ट्रसेवक संघ निकै अनुभवी र ज्ञानगुनले भरिपूर्ण संस्था रहेकाले जिल्लाभर रहेका सेवा निवृत्त राष्ट्रसेवकहरु सबैलाई समेटेर साझा संस्थाको रुपमा विकास गर्न आग्रह गर्नुभएको छ ।आलेले आफुले समेत यसमा भाग लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले सेवा निवृत्तहरुसंग ज्ञान , विवेक र शीप रहेकाले त्यो ज्ञान र शीपलाई प्रायोग गर्न सके समाजको रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समितीका उपप्रमुख शारदा बि.क. ले यो संस्था निकै विश्वाशिलो र शक्तिशाली संस्था रहेको बताउनुभयो । उहाँले सेवा निवृत्त राष्ट्रसेवक संघ आर्थिक रुपमा पनि कमजोर नभएको भन्दै उहाँले आफैभित्रबाट हामि कमजोर छौँ भनेर भन्ने सोँच हटाउनुपर्ने बताउनुभयो । उहाँले राज्यले दिएको सुविधा रहेकाले त्यो सुविधालाई मन फुकाएर सहयोग गर्न सके संस्था आफैँ आर्थिक रुपमा सवल बन्ने र समुदायलाइ पनि सहयोग गर्न सकिने बताउनुभयो । उहाँले संस्थाले सधैँ सकारात्मक काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाको संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै सचिव नरनाथ पाण्डेले संस्थाले मासिक कार्ययोजना बनाएरै कामहरु गर्ने योजना बनाएको भए पनि कोभिडका कारण धेरै काम गर्न नसकिएको बताउनुभयो । उहाँले करीब १४ महिनाको अवधीमा ४ वटा वैठक , योग शिविर सञ्चालन र प्रमुख जिल्ला अधिकारीसंग छलफल कार्यक्रम मात्रै गर्न सफल भएको बताउनुभयो । उहाँले जिल्लाका आठ वटै पालिकामा पालिका स्तरीय सेवा निवृत्त राष्ट्रसेवक संघ गठन गर्ने कार्य समेत जारी राखेको बताउनुभयो । अहिलेसम्म बौदीकाली , बुलिङ्गटार र देवचुली बाहेक सबै स्थानीय तहमा गठन भईसकेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म संस्थामा २१० जना जोडिएको र शनिबार समेत केहि आजिवन सदस्यहरुले सदस्यता लिनुभएको बताउनुभयो ।
यस्तै कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दूर्गा वहादुर गुरुङ्गले आय विवरणका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले दुई लाख १५ हजार १ सय ४६ रुपियाँ बराबरको विवरण प्रस्तुत गर्नुभयो । जुनमध्ये बैंक मौजदाज १ लाख १० हजार २ सय ७२ रुपियाँ र नगद मौज्दाज २४ हजार ७ सय ३३ रुपियाँ रहेको जानकारी दिनुभयो ।कार्यक्रममा संस्थाका आजिवन सदस्य तथा सबैभन्दा जेष्ठ सदस्य मध्यविन्दु नगरपालिकाका तोयानाथ मरासिनी र उहाँकी धर्मपत्नी सुशीला मरासिनीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा मध्यविन्दु हरियाली सामुदायिक वनका अध्यक्ष तेज वहादुर केसी , गैंडाकोट नगरपालिकाका संयोजक प्रेम वहादुर भण्डारी , केन्द्रिय प्रतिनिधी वेदप्रसाद गौडेल , सल्लाहाकार डा. गोपाल खनाल लगायतले बोल्नुभएको थियो ।संस्थाका अध्यक्ष युक्त प्रसाद गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टंक प्रसाद अर्यालले स्वागत र कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष युक्तप्रसाद गौडेलले सेवा निवृत्त राष्ट्रसेवक संघ कुनै पनि राजनीति गर्ने संस्था नभई विशुद्ध सामाजिक संस्था भएको बताउनुभयो । संस्थामा आबद्ध सदस्यहरु उमेरले वृद्ध भएपनि कामका हिसाबले यूवा नै भएर काम गरिरहेको बताउनुभयो । उहाँले समाजको विकास लागि सरकारले अवसर दिएमा जस्तोसुकै काम गर्न सक्षम र तयार रहेको बताउनुभयो । उहाँले आफु सधैँ अध्यक्ष भईरहनुपर्छ भन्ने मानसिकता नराखेकाले आउँदो वर्ष हुने अधिवेशनमा नयाँ नेतृत्व लिन इच्छुकहरु आजैबाट तयारी हुन आग्रह गर्नुभयो। कार्यक्रममा नवआगन्तुक सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Write your Comment