आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

नेपालले कार्बन सञ्चितिवापत ५ अर्ब प्राप्त गर्ने

    प्रकाशित २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)


काठमाडौँ: नेपालले वन संरक्षणमार्फत् उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए वापत करीब ५ अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

सो सम्झौतानुसार नेपालले पश्चिम तराइका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत् उत्सर्जन घटाइ कार्बन सञ्चिति बढाए वापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापी रूपमा १२औँ देश हुन पुगेको छ ।

Write your Comment