आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

कावासोती नगरपालिकाद्वारा मौरीपालक किसानलाई आवश्यक सामाग्री प्रदान

    प्रकाशित २०८० जेष्ठ १९, शुक्रबार (११ महिना अघि)


नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले पालिका भित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ । नगरपालिकाले मौरी पालक किसानका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामाग्री अनुदानमा उपलब्ध गराएको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि किसानलाई सामाग्री हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, वडा नम्बर ८ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक गोकर्ण रिमाल, वडा नम्बर १ का वडा अध्यक्ष एवं पूर्वाधार विकास समिति संयोजक तबारक अहमद मिया , कृषि शाखा प्रमुख शिवनारायण कुमाल लगायतले सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरेका थिए ।

मौरीको घार २ सय ७० थान, महदानी २ थान, चाका १०० थान, टोपी २० थान, मैन बक्स ३ थान लगायतका सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत लागत सहभागिता गरि कुल रु. १४ लाख बराबरका सामाग्री प्रदान गरिएको हो ।

नमूना मौरी पालक समूह मार्फत सामाग्री किसानलाई प्रदान गरिएको हो । १८ जना मौरी पालिका किसान प्रत्यक्ष रुपमा लाभान्वित भएको समूहका अध्यक्ष कबिराम भण्डारीले बताउनुभयो ।

किसानलाई सामाग्री हस्तान्तर गर्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले व्यवसायीक रुपमा मौरी पालनलाई प्रोत्साहन गरि आर्थिक विकासमा सहयोग पुगोस् भनेर अनुदानमा सामाग्री वितरण गरिएको बताउनुभयो । नगरपालिकामा सीमित स्रोतको बावजुत समेत केही मात्रमा भएपनि प्रोत्साहनका लागि अनुदानमा सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मौरी पालन पेशा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्ने गरेको बताउनुभयो । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि तोरी लगायतका बालीमा कडा खालका विषादी प्रयोग घटाउनुपर्ने बताउनुभयो ।

 

वडा नम्बर ८ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक गोकर्ण रिमालले अनुदानमा सामाग्री वितरण गर्नुको प्रमुख उद्देश्य मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिन सक्ने र आर्थिक अभिवृद्ध गर्नु रहेको बताउनुभयो ।

नगरपालिकाले अनुदानमा सामाग्री वितरण गरेपछि मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रर्वद्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाई छ ।

Write your Comment