

देवचुली । असल छिमेकी नेपालद्वारा बुलिङटार र बौदीकाली गाउँपालिकाका ६० जना युवालाई प्रदान गरिएको सीपमुलक तालिम सम्पन्न गरेको छ । युवाहरुका लागि रोजगारी तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तरगत नवलपुरको दुई पालिकाबाट छनोट भएका युवाहरुलाई पहिलो चरणको तालिम सम्पन्न गरिएको हो ।

दुई पालिकाबाट छनोट भएका युवा मध्ये २० जनालाई बेसिक सिलाई बुनाई तालिम, २० जनालाई मोबाइल रिपेयरिङ र २० जनालाई बेसिक हाउस वायरिङ तालिम प्रदान गरिएको संस्थाका परामर्श तथा परिचालन सुपरिवेक्षक नवराज मोजाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सिटिईभीटी परीक्षामा तालिमका सहभागी मध्ये ४८ जना पास हुन सफल भएका हुन् ।
तालिममा ५९ जना सहभागीलाई आवश्यक बेसिक टुलसेट र सामाग्रीहरु निशुल्क उपलब्ध गराइनेछ । परियोजनाको अवधिमा प्रति व्यक्ती १ लाख बराबरको दुर्घटना बिमा गरिएको साथै बेसिक मोबाइल रिपेयरिङ र बेसिक हाउस वायरिङ तालिममा सहभागीलाई आवासीय तालिमको व्यवस्था गरिएको थियो ।

संस्थाको अनुसार सहभागीहरु मध्ये २३ जनालाई व्यवसायिक विकास तालिम र १९ जनालाई करियर विकास तालिम समेत उपलब्ध गराइएको हो भने ५ जनाले इन्टनसिप गर्न सफल भएका थिए । बेसिक मोबाइल रिपेरिङ र बेसिक हाउस वायरिङ तालिममा सहभागी भएका २/२ जनालाई ५०/५० हजारको बिउँ पुजीसहितको व्यवसाय सुरु गरेको छन् । तालिममा सहभागी मध्ये दुई तिहाई सहभागी आम्दानीसँग जोडिन सफल भएका र ३६ जनाले रोजगारीका साथै स्वरोजगार गर्दै आएका संस्थाले जनाएको छ ।