देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा शनिबार साविक पिठौली र पृथ्वी समाज सेवा क्लब विजयी भएका छन् । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध साविक पिठौलीबीच भएको खेलमा साविक पिठौली विजयी भएको हो ।
साविक पिठौलीले प्रगतिकला मन्दिर युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । शनिबारको पहिलो खेलमा साविक पिठौलीका तारा थापा मगर म्यान अफ दि म्याच भएका थिए ।
शनिबार भएको दोस्रो खेलमा पृथ्वी समाज सेवा क्लब विजयी भएको छ । पृथ्वी समाज सेवा क्लबका विरुद्ध युवा तथा खेलकुद विकास समिति देवचुली १ बिच भएको खेलमा पृथ्वी समाज सेवा क्लब ट्राइबेकरमा ५-४ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको हो । दोस्रो खेलमा पृथ्वी समाज सेवा क्लबका दोपेश मगर म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए । प्रतियोगिता अन्तरगत आइतबार अभिषेक चर्च रजहरका विरुद्ध हसौरा युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ।