आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम

    प्रकाशित २०८० चैत्र १४, बुधबार (१ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा स्वास्थ्य संस्था, विद्यालय तथा खानेपानी समिति र संस्थाका प्रतिनिधिहरुलाई मंगलबार र बुधबार प्रशिक्षक प्रशिक्षण तालिम गरिएको हो ।


समुदायमा सचेतना गराउनका लागि प्रशिक्षक तयार गर्न,महिनावारी सम्बन्धि समुदायमा भएका राम्रा र सुधार गर्नुपर्ने विषयहरुमा जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको नापा वासका परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो । तालिममा कल्पना दिसुवाले महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धन सम्बन्धि सहजीकरण गर्नुभएको थियो।

मंगलबार सुरु गरिएको तालिमको बुधबार देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो। कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले महिलाहरुलाई महिनावारी स्वच्छता सम्बन्धि सचेतना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देवचुली नगरपालिकाका प्रत्येक विद्यालयमा छात्राहरुका लागि निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको बताउँदै महिलाहरुलाई निरन्तर सचेतनाको कार्यक्रम गरिरहेको बताउनुभयो । महिनावारी स्वच्छ्ता व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्य आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।

तालिमबाट महिनावारीको बारेमा रहेका गलत धारणाबाट सचेत भएको र समुदायमा सचेतना संचालन गर्न आवश्यक रहेको सहभागी गीता रेग्मीले बताउनुभयो । कार्यक्रममा नापा वासका परियोजना निर्देशक भिमबहादुर मल्ल, खानेपानी, सरसफाइ तथा स्वच्छता विज्ञ सुशील सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले देवचुली ५ र ६ मा खानेपानी र स्वच्छता सम्बन्धि परियोजना संचालन गरेको छ। देवचुली नगरपालिकाको समन्वयमा देवचुली ५ र ६ लाई पुर्ण सरसफाई मैत्री वडा घोषणा गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।

Write your Comment