आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

हिंसा अन्त्यको लागि कानुनी सचेतना फैलाउँदै जागृति बाल तथा युवा सरोकार नेपाल

    प्रकाशित २०८० चैत्र ६, मंगलबार (७ महिना अघि)


कावासोती । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोती नगरपालिकामा बालिका र महिलामाथि हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि समुदाय स्तरका अगुवाहरुलाई कानुनी सचेतना फैलाउँदै आएको छ । संस्थाले किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत सो अभियानहरु गाउँ गाउँमा पुर्‍याउन सुरु गरिएको संस्थाका महासचिव दिपक शर्माले बताउनु भयो ।

विकास भौतिक मात्र देखेर स्थानीय सरकारले मानव विकासका अरु सुचकमा काम नगर्दा गाउँगाउँमा समस्या रहेको र यो अझै विशेष गरि हिंसा र दुर्व्यवहारका घटना बढी हुनु र यसको रोकथामको लागि पहल नहुँदा सचेतना कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो ।सोमबार संस्थाले कावासोती १४ मा रहेका विभिन्न आमा समूह र टोल विकासबाट प्रतिनिधित्व हुने गरि सचेतना मुलक कार्यक्रम गरेको छ। जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, नवलपुर किशोरी संजाल, सामुदायिक सेवा केन्द्र नवलपुर, कावासोती वडा नं १४ को सहकार्य र क्यान्नलानको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले लैंगिक हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्यांकहरु सहित प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालय र अरु निकायहरु समन्वय गरि हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समुह, महिला समूह, अभिभावकहरुको भुमिका र हिंसा, दुर्व्यवहार भएमा समन्वय गर्न सकिने निकायहरुको बारेमा जानकारी समेत गराउनु भएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोती नगरपालिकामा संचालन भइरहेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका गतिविधिहरु तथा अभियानहरुको बारेमा जानकारी दिदै समुदायमा हिंसा, दुर्व्यवहार, शोषण तथा असमानता अन्त्य गर्ने उदेश्यले स्थानीय तह, सरोकारवाला, सामुदायिक संस्था, वडा कार्यालय, विद्यालय, संजाल, नगरपालिकाले चासो राख्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा महिला अधिकारका लागि राष्ट्रिय अभियानका केन्द्रिय महासचिव कल्पना बिन्दु गौतमले धेरै जसो हिंसा पुरुषहरुबाट नै हुने भएकाले छोराछोरी दुवैलाई सचेत गराउन, सचेतना र परिवर्तनका लागि सुरुमा आफैं बाट सुरुवात गर्न, आफुले हिंसा नसहने, अरुलाई हिंसा हुन नदिने, अरुलाई हिंसा नगर्ने भन्ने कुरामा प्रतिबद्ध हुन, घरपरिवार तथा समुदायमा पनि आफुले सिकेका र जनचेतनाका कुरा सिकाउन आवश्यकता रहेको बताउनु भएको थियो ।

कावासोती १४ का कार्यवाहक वडा अध्यक्ष दान बहादुर महतोले समुदायमा कुनै घटना हुँदा सम्बन्धित निकायमा सूचना दिई सरसल्लाह गर्न, महिला हिंसा भएमा कानुनी प्रक्रिया अपनाउन, हिंसालाई प्रतिकार गर्न आफ्नो गाउँठाउँबाट जागरुक हुन सुझाव दिनु भएको थियो । उहाँले कार्यक्रममा लैंगिक हिंसा भित्र शारीरिक हिंसा, यौनजन्य हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, धार्मिक हिंसा लगायत विभिन्न घटनाहरुप्ररी सचेत हुँदै कार्यक्रममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सकियो भने हिंसालाई न्यूनीकरण गर्न सकिने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु, समुदायस्तरमा रहेका विभिन्न आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, अभिभावक, जिल्ला प्रहरी कार्यालय, अग्यौली स्वास्थ्य केन्द्रका प्रतिनिधि, सामुदायिक प्रहरीका प्रतिनिधिहरु गरि ५८ जनाको उपस्थिति रहेको थियो ।

Write your Comment