आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

सम्पूर्ण किताबमा बालबालिकाको `म पनि पढ्छु´ शृङ्खला

    प्रकाशित २०८० माघ ८, सोमबार (३ महिना अघि)


भरतपुर । नारायणगढ बजारको लायन्सचोकबाट बालकुमारी कलेजतर्फ जाँदै गर्दा १०० मिटर अगाडि छ, सम्पूर्ण किताब । यो पसल चितवनका साहित्यिक स्रस्टा तथा पुस्तक पारखीहरूको जमघटको थलो बनेको छ । साहित्यिक एवम् समसामयिक किताब पाइने यो पसलमा व्यापार मात्रै हुँदैन, किताबको विमोचन, विमर्शलगायतका गतिविधि पनि भैरहेका हुन्छन् ।

पसलका सञ्चालक लेखराम सापकोटा आफैमा साहित्यमा रुचि भएका व्यक्ति भएको हुनाले उनले पसलमा बेलाबेलामा विभिन्न साहित्यिक गतिविधि गरिरहेका हुन्छन् । पुस्तक बिक्रीवितरण गर्न र लेखकलाई मञ्च दिन पसलमा नै विभिन्न कार्यक्रम गरिरहेको उनी बताउँछन् ।

सम्पूर्ण किताबमा जिल्लाका स्रस्टाहरूको नियमित उपस्थिति हुने गर्छ । जिल्ला बाहिरका स्रस्टा पनि सम्पूर्ण किताबमा हुने गरेका गतिविधि देखेर यो बाटो भएर कतै जाँदै गर्दा समय मिलेसम्म यहाँ पसेर जाने गर्छन् । त्यसरी आउने पाहुनालाई स्वागत गर्दै यहाँका कवि, लेखक, पाठक जम्मा भएर सम्बन्धित स्रस्टाका कृतिको चर्चा गर्ने, कविता सुन्नेलगायत कार्यक्रम क्षणभरमै तय हुन्छन् ।

यस्ता कार्यक्रम र गतिविधिको सूचना र समाचारले स्रस्टाहरूलाई हौसला मिलेको बताउने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री सम्पूर्ण किताबलाई साहित्यिक तीर्थस्थल मान्छन् ।

काठमाडौं बाहिरका पुस्तक पसलमध्ये सम्पूर्ण किताबले पठन संस्कार बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै साहित्यिक किताबको बजार प्रबर्द्धनमा टेवा पुर्‍याएको छ । नेपालमा सम्पूर्ण किताबले जसरी अरूले पनि किताबको बजारीकरण गर्ने हो भने लेखक र प्रकाशकलाई राहत मिल्ने कतिपय लेखक र प्रकाशक बताउँछन् ।

`म पनि पढ्छु´

नियमितरूपमा स्रस्टाहरूको बाक्लो उपस्थिति रहने सम्पूर्ण किताबको नारा हो, म पनि पढ्छु । यही नारालाई अघि बढाउँदै सम्पूर्णले शृङ्खलाबद्ध कार्यक्रम सुरू गरेको छ ।

गएको शनिबार सम्पूर्णमा एक हुल विद्यार्थीहरू आए । विद्यार्थीहरूमा पढ्ने संस्कार बसाउन र बोल्ने बानीको विकास गराउन सम्पूर्ण किताबले सुरु गरेको `म पनि पढ्छु´ कार्यक्रममा सहभागी हुन विद्यार्थीहरू त्यहाँ आएका थिए । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस चितवनसँगको सहकार्यमा `म पनि पढ्छु : विद्यार्थीका अनुभव र अनुभूति´ कार्यक्रम सम्पूर्ण किताबले सुरु गरेको हो ।

कार्यक्रमको पहिलो शृङ्खलामा चितवन र नवलपरासीका विभिन्न विद्यालयका ८ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीले आफूले पढेका किताबको बारेमा चर्चा गर्दै उक्त किताबबाट आफूले सिकेका कुरा सुनाएका थिए । कार्यक्रमको सुरुवातमा स्मल हेभन मोडल स्कुलमा कक्षा १० मा अध्ययनरत प्रसंशा पराजुलीले `मोम्चो´ कथासङ्ग्रहको समीक्षा सुनाइन् । प्रसंशाले आफ्ना बुवा वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चोको लिखित समीक्षा पढेर सुनाएकी थिइन् । उनले मोम्चोमा सामाजिक कथाहरू भएको बताइन् ।

दोस्रो सहभागीका रूपमा अङ्कुरम् एकेडेमीमा कक्षा ७ मा पढ्ने आशीर्वाद सापकोटाले आफ्नो पठन अनुभूति सुनाए । आशीर्वादले विश्वप्रसिद्ध कथाकार रोल्ड डालको `बिल्ली एण्ड द मिन्पिन्स´ पुस्तकको चर्चा गर्दै सोही पुस्तकबाट एउटा कथालाई आफ्नै ढंगले सुनाए । उनले उक्त कथा पढेर आमाले भनेको कुरा मान्नुपर्छ, कतै नजानेको ठाउँमा एक्लैएक्लै जान हुँदैन, त्यसो गरियो भने दु:ख पाइन्छ भन्ने सन्देश लिएको बताए ।

त्यसैगरी गैंडाकोट इङ्लिस स्कुलमा कक्षा ६ मा पढ्ने छात्रा अभिश्री कँडेलले आफूले पुस्तक पढ्न रुचि राख्ने र थुप्रै किताब पढेको बताइन् । अतिरिक्त किताब पढ्दा आफूले धेरै कुरा सिकेको र आफ्नो व्यक्तित्व विकासमा सहयोग पुगेको बताइन् ।

सनराइज स्कुलमा कक्षा ९ पढ्ने आरोपा श्रेष्ठले आफूले पढेको पुस्तकको परिचय दिइन् । `म्याक्स वेल नलेज´ का ४ वटा भागको परिचय राख्दै आरोपाले यो पुस्तक विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएको बताइन् ।

विश्वप्रकाश माविकी छात्रा वर्षा कार्कीले डाक्टर नवराज केसीको पुस्तक `शून्यको मूल्य´को चर्चा गरिन् । कक्षा १० मा पढ्ने वर्षाले शिक्षक विपिन पाठकबाट जन्मदिनमा यो पुस्तक उपहार पाएको बताउँदै यो पुस्तक प्रेरणादायी भएको उल्लेख गरिन् ।

अङ्कुरम् एकेडेमीमा कक्षा ९ मा पढ्ने विनिसा साहले `अ पथ अफ हेभन´ उपन्यास पढेर सकेको बताइन् । उनले सोही किताबको कथालाई सुनाइन् । स्टेप बाइ स्टेप स्कुलमा ११ कक्षामा पढ्ने सम्पदा चालिसेले आफूले पढेका किताब सेतो धरती, बाआमा, सखीलगायतका पुस्तकको चर्चा गरिन् । विद्यार्थी जीवनमा अतिरिक्त किताबले आफूलाई धेरै सहयोग मिलेको सम्पदाले बताइन् ।

आदर्श पब्लिक स्कुलमा कक्षा ५ मा पढ्ने हिमेश कँडेलले तीन वर्षअघि देखि नै आफूले पाठ्यक्रमबाहिरका पुस्तक पनि पढ्ने गरेको सुनाए । उनले कथा पढ्नमा आफ्नो रूचि रहेको बताउँदै उनलाई मन पेको कथा ‘रीताको स्कुल’ कथाबारे चर्चा गरे ।

कार्यक्रममा सबै विद्यार्थीले निर्धक्कसँग आफ्ना कुराहरू राखेका थिए । कार्यक्रममा विद्यार्थीको प्रस्तुति सुन्न आएका उदय अधिकारी, प्रेम सिग्देल र उपेन्द्र त्रिपाठीले पढ्ने बानीले विद्यार्थीलाई धेरै कुरा सिक्न र जुनसुकै काम गर्न पनि सजिलो हुने बताए ।

Write your Comment