आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कार्तिक १९ गते देखि नवलपुरमा दुई नाटक मञ्चन हुँदै

    प्रकाशित २०८० कार्तिक १४, मंगलबार (८ महिना अघि)


नवलपुर।नाटक एक चिहानको सफलता पछि ह्याप्पी एफ.एमको आयोजना र पोखरा थिएटरको प्रस्तुतीमा नवलपुरमा दुई नाटक मञ्चन हुने भएको छ । आगामी कार्तिक १९ गते आइतबार देखि नवलपुरको देवचुली नगरपालिका १७ फारममा रहेको बरचुली माध्यमिक विद्यालयमा दुई नाटक मञ्चन हुने भएको हो ।

साहित्यकार भीमिनिधि तिवारीको नेपाली पाठ्यक्रमको कक्षा ८ मा पढाई हुने ‘अमर पुत्र’ कथा र कक्षा १० मा पढाई हुने ‘घरको माया’ एकाङ्कीमा आधारित दुई विषयवस्तुलाई नाटकमा रुपान्तरण गरि मञ्चन गर्न लागिएको कार्यक्रमका व्यवस्थापक एवम् ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनुभयो । ह्याप्पी एफ.एमले गत फाल्गुन १६ देखि १९ गते सम्म नवलपुर मै पहिलो पटक मञ्चन गरिएको नाटक ‘एक चिहान’ को सफलता पछि पुन: दुई नाटक मञ्चनको तयारीमा रहेको कडरियाले बताउनुभयो । थियटरमा नै उपस्थित भई नाटक हेर्दा विद्यार्थीहरुमा नाटक प्रतिको रुचि साथै कथाको विषय वस्तुलाई बुझ्न थप मद्धत पुर्‍याउने विश्वासका साथ नाटक मञ्चन गर्न लागिएको उहाँले बताउनुभयो ।

एक चिहान मञ्चन पश्चात नाटक अवलोकन गरेका विद्यार्थी एवम् विद्यालयबाट राम्रो प्रतिक्रिया पाएपछि पुनः नवलपुरमा दुई नाटक मञ्चन गर्न लागिएको ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले बताउनुभयो । उहाँले नाटकलाई जीवन्त राख्न साथै कथाका विषयवस्तुलाई बालबालिकाले सहज ढंगले सिक्ने उद्धेश्यले थियटर नै बनाएर नाटक मञ्चन गर्न लागिएको बताउनुभयो ।

नवलपुरमा मञ्चन हुने यो दोस्रो पटक हो । दोस्रो पटक नाटक मञ्चन गर्न पाउँदा निकै खुशी लागेको पोखरा थिएटरका निर्देशक परिर्वतनले बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिका देखि बृद्धबृद्धाहरुमा नाटक प्रति चासो बढिरहेको देख्दा खुशी लागेको बताउँदै कार्तिक १९ गते देखि मञ्चन हुने नाटक हेर्नका लागि सम्पूर्णलाई निमन्त्रणा समेत गर्नुभएको छ ।

नाटक हेर्नको लागी विद्यार्थीहरुलाई २ सय र अन्यको लागी ३ सय रुपैंयाको टिकटको व्यवस्था गरिएको छ । नाटक अवलोकनका लागि अहिले बुकिङ्ग खुल्ला गरिएको छ । नाटक हेर्नका लागि विभिन्न विद्यालयहरुले बुकिङ गरिरहेका छन् । शो बिहान १०ः३० बजे, दिउँसो १२ः१५ बजे , २ः०० बजे गरि दैनिक ३ शो मञ्चन गरिने तय भएको छ ।

Write your Comment