आज:  २०८१ भाद्र २७, बिहिबार | Thu, 12, Sep, 2024 Search
FLASH NEWS

सुन तस्करी प्रकरणमा नयाँ मोड, अनुसन्धान केही नेतातर्फ केन्द्रित

    प्रकाशित २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)


काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ ।

सीआईबीको हिरासतमा रहेका दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले दावाको कलडिटेल सीडीआर मगाएर अनुसन्धान शुरू गरेको छ ।सीआईबी स्रोतका अनुसार बरामद भएको ६० किलो सुन र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) बाट बरामद भएको ९ किलो सुनमा माओवादीका नेताहरूको कनेक्सन देखिएपछि दबाब र प्रभावमा काम भएकाले अनुसन्धानमा कठिनाइ आइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ ।स्रोतका अनुसार पछिल्लो समय नेपालको बाटो भई भारततर्फ तस्करी हुँदै आएको सुन तस्करीमा माओवादी केन्द्रका नेताहरू कुनै न कुनै रूपमा जोडिँदै आएको अनुसन्धानको क्रममा फेला परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्डको छानबिन सीआईबीले मात्रै नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ भने नागरिकस्तरमा जाँचबुझ आयोग ऐन २०२६ अनुुसार उच्चस्तरीय न्यायिक आयोगको माग हुँदै आइरहेको छ ।तर, माओवादीलगायतका सत्तारुढ दलले छानबिन तथा न्यायिक समिति बनाउन अनिच्छा व्यक्त गर्दै आइरहेका छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Write your Comment