आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

नवलपुरमा सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्यो

    प्रकाशित २०८० अषाढ २५, सोमबार (१ साल अघि)


नारायण शर्मा,नवलपुर। पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले देखाएको छ ।

यहाँ ठूला तारे होटलदेखि फरक फरक सुविधाका होटल छन् । नेपालकै ठूलो व्यावसायिक घराना चौधरी समूह, आईएमई समूह र कहलिएका पर्यटन व्यवसायीले यहाँका होटलमा लगानी गरेका छन् । होटलमा लगानी गर्नेमा वैदेशिक रोजगारीबाट फर्किएका युवा, ठूला व्यावसायिक घरानादेखि जग्गा कारोबारी समेत छन् । गैंडाकोट स्थित मौलाकालिका डाँडामा मौलाकाली केबुलकार सञ्चालकले करिब एक अर्बको लगानीमा ७० कोठाको होटल निर्माण गरिरहेका छन् । त्यहाँ केबुलकारसँगै सञ्चालनमा ल्याइने लक्ष्य रहेको छ । यो चारतारे होटल हो । मौलाकाली केबलकार प्रालिको लगानी रहेको छ ।

केबलकार सहित यो होटलमा करिब एक अर्ब लगानी रहको केबलकारका म्यानेजर सुरज पौडेल बताउँछन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रराज ढकालको मुख्य लगानी रहेको छ । मौलाकालिका डाँडामा निर्माणाधिन यो होटलको माथिल्लो भागमा स्विमिङ पुल समेत रहेको छ । होटलको छतमा हेलिप्याड र स्विमिङ पुल सुविधा सहितको यो होटल नवलपरासीको फरक सुविधा भएको पहिलो हो ।

मौलाकालिका मन्दिरको टुप्प्पोमा निर्माणाधीन यो होटल आगामी भदौ अगाडि सञ्चालनमा ल्याउने लक्ष्य छ । स्विमिङ पुल र छतमा हेलिप्याडको सुविधा भएको यो होटलबाट देवघाट, चितवनको माडी र पूर्वी नवलपरासीका अधिकांश स्थानको दृष्यावलोकन गर्न सकिन्छ । डाँडाको जंगलमा निर्माण हुँदै गरेको यो होटल शान्त र रमणीय स्थलमा छ । केबलकारमा आउने तिर्थालुको सुविधाका लागि यो होटल खोलिएको हो । यो होटलले करिब ४० जनालाई प्रत्यक्ष रोजगारी दिने सञ्चालकको दावी छ ।

गैंडाकोट नगरपालिकाको हर्कपुरमा करिब ८० करोडको लगानीमा बगैँचा एडभेन्चर रिसोर्ट निर्माणको अन्तिम चरणमा छ । वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसेका युवा व्यवसायी सन्तोष धितालले यो रिसोर्टमा लगानी गरेका छन् । यो नेपालमा फरक शैलीको होटल हो । २० वटा कोठा, हल, हरेक रुममा स्विमिङ पुल र बार सहितको यो रिसोर्ट आसार दोस्रो साताबाट सञ्चालनमा ल्याइएको छ । निर्माणाधीन रिसोर्टलाई स्थानीयले गाडा होटल भन्ने गरेका छन् । कार्ट हाउस ९गाडा घर भनेर यसलाई चिनाउन खोजिएको छ । वातानुकुलित यो होटलमा बाहिर र कोठा भित्रको तापक्रममा १२ डिग्री फरक हुने व्यवसायी सन्तोष धितालको दाबी छ । ‘यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो हो’ उनले भने ।

१८ इन्च बाक्लो पर्खाल रहेको यो होटलको भित्री कोठामा एसी जडान नहुने सञ्चालकको भनाइ छ । ‘गर्मीयाममा चिसो रहने र जाडो याममा न्यानो हुने छ’ धितालले भने ‘होटल रहेको स्थानमा अर्गानिक तरकारी उत्पादन गर्न साढे ६ बिघा क्षेत्रफल छ ।’

२ बिघामा बगैंचासहित होटल निर्माण भएको छ । रिसोर्टले साढे ४ बिघा जग्गामा अर्गानिक उत्पादन गरिरहेको छ । धान, तरकारी, मकै, फापर, तोरी र लसुन सबै आफ्नै जग्गामा उत्पादन सुरु गरेको छ । ५ वटा भिल्ला परम्परागत नेपाली गाडा माथि कोठा बनाइएको छ । यहाँ नुहाउने कोठा खुला आकासमुनि, ढुंगेधारायुक्त छ । गाडा घर ९होटल कक्ष० माथि छानोको ३० प्रतिशत भागमा सिसा लगाइएको छ । राति सुत्दा त्यहाँबाट जुनतारा देख्न सकिन्छ । होटलको सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ । नारायणगढ बजारदेखि १४ किलोमिटर पश्चिम हर्कपुरमा यो होटल छ । होटलमा बाँसको ढुंग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटल सञ्चालकले अहिले नै १० वर्षसम्मलाई पुग्ने बाँस लगाएका छन् । होटलका पाहुनाले खानाखाने थाल, प्लेट, गिलास समेत काठबाट नै बनाइएको छ । फरक शैली र नयाँपन दिन यसो गरिएको सञ्चालक धितालको दाबी छ ।

यहाँ तोरी पेल्ने ढुंगाको कोल समेत राखिएको छ । एकैपटक ५ सय जना राखेर कार्यक्रम गर्न सकिने हल समेत संचालनमा छ । गाडा घर बाहेकका १५ वटा भिल्लामा सनबाथको पनि व्यवस्था छ । होटल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने सञ्चालकको भनाइ छ । यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने संचालकले बताएका छन् ।

चौधरी समूहले यहाँको दुम्कौलीमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । नेपालका उद्योगपति विनोद चौधरीको दुम्कौलीमा रहेको सीजी औद्योगिक पार्क भित्र यो रिसोर्ट रहेको छ । मनोरम जंगलभित्र रहेको यो रिसोर्टले ठ्याक्कै नेपालको पायोनियर होटर टाइगर टप्सको झल्को दिन्छ । चितवन निकुञ्ज भित्र करिब ८० वर्षअघि निर्माण गरिएको टाइगर टप्सको झल्को दिने यो रिसोर्टमा १६ वटा विशिष्ट कोठा छन् । काठैकाठबाट निर्माण गरिएको यो रिसोर्ट फरक शैलीको छ । विगत ३० वर्षदेखि हुर्काइएको जंगलभित्र निर्माण गरिएको रिसोर्ट परिसरमा गल्फ कोर्ट, ब्याडमिन्टन, बास्केटबल कोर्ट पनि छ । शास्वतधाम मन्दिरको उत्तर पश्चिममा निर्माण गरिएको यो रिसोर्ट अगाडि मानव निर्मित शान्त तलाउ छ ।

जंगलभित्रको शान्त वातावरणमा रहेको यो रिसोर्टमा वाइन टेस्टिङ वर्कसप, क्यूरेटेड स्पा, हाइड्रो थेरापी, वेलनेस थेरापी, नेचर ट्रेलजस्ता फरक सुविधा रहेको सीजी हस्पिटालिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिराया नजिक अर्को गल्फ रिसोर्ट पनि सञ्चालनमा छ । सुन्दर गल्फकोर्स नजिकै निर्माण गरिएको यो रिसोर्टमा ध्यान र योग अभ्यास समेतको कोर्स गराइने सीजी हस्पिटालिटीको भनाइ छ । करिब ६ बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट वरपर डेढ घण्टा पैदल हिँड्न मिल्ने जंगल छ । जग्गासहित यो रिसोर्टमा करिब एक अर्बको लगानी रहेको कम्पनीले जनाएको छ । काठैकाठबाट बनाइएको रिसोर्ट अत्यन्तै फरक शैलीको छ । हेलिप्याडको समेत सुविधा रहेको यो होटल नारायणगढबाट २० किलोमिटर पश्चिम दुम्कौलीमा छ । पोखरा र लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्षित गरेर यो होटल निर्माण भएको हो ।

कावासोतीस्थित अमलटारी नजिकमा करिब एक अर्बको लगानीमा हिमालयन सेन्चुरी होटल सुरु भएको छ । परम्परागत थारु शैलीको झल्को दिने यो होटल नारायणी नदी किनारमा छ । बाहिरबाट झट्ट हेर्दा थारु शैलीमा बनाइएको घरले थप आकर्षण बढाएको छ । स्विमिङ पुल सहित फरक फरक भिल्ला छ । यहाँ २४ वटा कोठा रहेको छ । पाँचवटा हेलिप्याड छ । थारु साँस्कृतिक कार्यक्रम र खाना यसका फरक विशेषता हुन् । चितवन निकुञ्ज र नारायणी नदी किनारमा रहेकाले यो शान्त वातावरणमा छ । कावासोती नगरपालिका-१७ अमलटारीमा होटल रहेको छ ।

 

महेन्द्र राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणमा प्रदीप थापाले रिभर साइड ग्रिन रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनका बाबु जग्गा व्यापारी हुन् । प्रदीप अस्ट्रेलियामा रोजगारीमा छन् । हाल रमेशले नै यो होटलको जिम्मेवारी सम्हालेका छन् । नारायणी नदी किनारमा रहेको यो रिसोर्टमा ३० वटा कोठा र भिल्ला छन् । ३ बिघा क्षेत्रफलमा रहेको यो रिसोर्टमा स्विमिङ पुलको सुविधा छ । यसमा करिब ४५ करोड लगानी भइसकेको प्रदीप बताउँछन् । नारायणगढबाट २० किलोमिटर पश्चिम फारम बजारबाट करिब ३ किलोमिटर दक्षिण नारायणी नदी किनारमा यो रिसोर्ट छ ।

सौराहामा भिडभाड बढेको भन्दै पूर्वी नवलपरासीस्थित नारायणी नदी किनारमा होटल र रिसोर्टमा लगानी गर्ने क्रम बढेको पुराना पर्यटन व्यवसायी पलट चौधरी बताउँछन् । पर्याप्त सामुदायिक वन, चितवन निकुञ्ज, नारायणी र फराकिलो ठाउँ भएका कारण यो क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढ्दै गएको र फरक फरक सुविधा दिनेक्रम बढेको चौधरी बताउँछन् ।

नेपालकै महँगा टाइगर टप्सको थारु भिलेज, मचान भिल्ला लगायतका होटल यही क्षेत्रमा रहेका कारण नेपाल आउने र बढी सुविधा खोज्ने पर्यटकको रोजाइँमा यहाँका होटल र रिसोर्टहरु रहेको उनको भनाइ छ । यहाँका ६ वटा मध्यवर्ति क्षेत्र र चितवन निकुञ्जमा घुम्ने चाहना राख्नेले सौराहा लगायतको क्षेत्रमा भन्दा बढी वन्यजन्तु समेत अवलोकन गर्न पाउने भएकाले यहाँ विदेशी र अधिक खर्चिला पर्यटकहरु आउने गरेको चौधरीको अनुभव छ । ७ महिना अघि पूर्वी नवलपरासीका ३ स्थानबाट चितवन निकुञ्ज प्रवेशको अनुमति दिइएपछि यहाँ विदेशी पर्यटकको चाप बढ्दै गएको छ । यहाँको अमलटारी, सिसवार र हर्कपुरबाट चितवन निकुञ्ज आउजाउ गर्ने प्रवेशद्वार खुलाइएको छ ।

Write your Comment