आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

पशुपालक कृषकहरु विस्थापित हुँदै

    प्रकाशित २०७९ पौष २६, मंगलबार (१ साल अघि)


मध्यविन्दु।नवलपरासी(बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका ८ को सम्राट कृषि तथा पशु फर्ममा दुई बर्ष अघि ५० वटा सम्म गाई थिए । दैनिक चार सय लिटर दूध उत्पादन हुन्थ्यो । मासिक आम्दानी दुई लाख हुन्थ्यो । तर हिजो आज फर्ममा चार वटा मात्रै गाई छन् । कोरोना भाइरसपछि देखिएको आर्थिक मन्दि, दाना पराल महङ्गो हुनु जस्ता कारणले गाईको संख्या घटाउनु परेको फर्मका सञ्चालक हेमन्त पौडेलले बताउनुभयो ।

“व्यवसाय नै यहि हो भनेर सुरु गरिएको हो यसलाई अँगाल्नुको साटो पन्छाउदै जादा त दुःख लागेको छ” पौडेलले भन्नु भयो “२५,२६ हजारसम्म आउने पराल कोडिभको बेला ८० हजारसम्म हाल्नुपर्यो, आठ दश दिन पनि हुदैन्, चार लाखको दूध बेचेर तीन लाखको पराल नै खुवाएर कसरी पाल्नु ।”

गैँडाकोट ६ कै झुमा क्षेत्रीका गोठमा पनि १२ वटा गाइ थिए । तर लागत अनुसारको उत्पादन प्रतिफल नआएपछि उहाँले ७ वटा गाई बेचिदिनुभयो । अब पाँच वटा गाई मात्रै बाँकी रहेको छ । दाना, पराल महंगिदै गएको तर दूधको मूल्य पर्याप्त रूपमा नबढेको भन्दै किसानहरू गाइ पालनको विकल्प खोज्न थालेका छन् ।“पहिला पहिला गाई किनबेचमा पनि उचित मुल्य थियो , अहिले मूल्य पनि छैन् ” क्षेत्रीले भन्नु भयो “पाँच सय रुपैया मुठा पराल ल्याउने हो,चार दिन पनि हुन्न दाना चोक्करलाई एकै पटक पाँच हजार नभइ हुन्न ।”

हाल किसानले प्रतिलिटर ५० देखी ६० रूपैंयामा दूध बिक्रि गर्दै आइरहेका छन् । जबकी उपभोक्ताले एक लिटर दूधको मूल्य ९० रुपैया तिर्नुपर्छ । किसानले गाईंलाइ खुवाउने चोक्कर सहितको पाँच हजार खर्च गर्नुपर्छ । एक वटा दुधालु गाई पाल्न किसानले बार्षिक एक लाख ४२ हजार खर्च गर्नु पर्दा उत्पादन भने लगभग एक लाख हुन्छ ।

दाना र चोक्करको मूल्यमा सहुलियत पाए सजिलो हुने लामिछाने पशु फर्मका संचालक रिता लामिछानले बताउनु भयो । “दुधको उचित मुल्य छैन्, बिहान चार वजे उठेर दूध दुहुन पर्छ ,लिटरलाई ५५/५६ मात्र मुल्य पर्छ ” लामछिानेले भन्नु भयो ।सरकारले कृषि क्षेत्रको प्रवद्धनका लागि विभिन्न निती बनाएको छ । तर सरकारले गर्ने लगानी वास्तविक किसान सम्म नआउने गरेको उनीहरु बताउँछन् ।

अर्का पशुपालक किसान बिष्णु न्युरे भन्नु हुन्छ “खर्च पुर्‍याउन सकिएन , बिरामी धेरै हुने, औषधी उपचार पनि महँगो , झोलाका किसान धेरै भए, वास्तविक किसान राज्यले पहिचान गर्न नसक्नदा गरिब किसान सधै पिडामा छन् । पराल २२/२५ रुपैया किलो छ दूध पचास रुपैया लिटर बेच्नु परेको छ । ”

देशभरि जस्तै गैँडाकोटमा गाई फर्महरूको सङ्ख्या घटिरेहको छ । गैँडाकोट नगरपालिकामा पाँच सय १६ वटा गाईभैसी फर्म सञ्चालनमा छन् । अधिकाश फर्महरूले विस्तारै गाईको सङ्ख्या कम गराउदै लगेका छन् । गाईपालक किसानलाई प्रोत्साहन गर्न गैँडाकोट नगरपालिकाले घाँस काट्ने मेसिन खरिद गरि वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख डाक्टर प्रमोद कुमार पौडेल बताउनु भयो । “गत वर्ष र यो वर्ष हामीले यात्रीकरण कार्यक्रम अन्तर्गत घरमै दाना वनाउन सक्ने मेसिन वितरण गरि लागत कम गराउन लागिपरेका छौ” शाखा प्रमुख पौडेले भन्नु भयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फर्म रहेका छन् । जसमध्य एक हजार दुई सय भन्दा बढि गाई पालन फर्म मात्रै रहेको छ । तर दाना र पराल महंगो हुँदै जानु र उत्पादित दूधले उचित बजार नपाउने कारण गाईपालक किसान कम हुँदै गएका छन् ।
गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपुर्तिको व्यवस्था सरकारले गरिदिए देश दूधमा आत्मनिर्भर मात्रै होइन, दूग्धजन्य पदार्थको निर्यात पनि गर्न सकिन्छ । यसको लागि नीतिगत व्यवस्था नै गरिदिनुपर्ने पशुपालक किसानहरू बताउँछन् ।रासस

Write your Comment