आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बालमैत्री नगर निर्माणका लागि कावासोतीमा अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ मंसिर १७, शनिबार (१ साल अघि)


कावासोती।कावासोती नगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि कावासोतीमा अभिमुखीकरण सम्पन्न भएको छ।कावासोती नगरलाई बालमैत्री घोषणा गर्नको लागि वडा वडामा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण गरिएको हो ।

कावासोती नगरपालिका वडा नम्बर २ र ५ का वडास्तरीय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम, कावासोती नगरपालिका सामाजिक विकास शाखा र वडा कार्यालयको समन्वयमा कार्यक्रमहरु वडा वडामा संचालन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए।पहिलो चरणमा वडा भित्रका बाल क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण गर्ने र पछि वडा भित्रका सरोकारवालाहरुलाई अभिमुखिकरण गर्ने योजना रहेको शर्माले बताए ।


शर्माले नयाँ जनप्रतिनिधिहरु र वडास्तरीय बालक्लबका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा साथै कार्यक्रमको उदेश्य बारे जानकारी दिँदै कार्यक्रमको संचालन गरेका थिए ।

बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वडालाई बाल मैत्री निर्माणमा बाल क्लबको भुमिकाको बारेमा अभियन्ता रेजिना घर्ती मगर र दिपक शर्माले सहजीकरण गरेका थिए।नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागि ५१ सुचक पुरा गर्नुपर्ने कार्यविधि तयार गरि कामहरु गरिराखेको छ ।

कार्यक्रमको उदघाट्न समारोहमा बोल्दै वडा अध्यक्षज्युहरुले वडालाई हरेक हिसाबले नमुना गराउनको लागि सबै पक्षको समुचित विकासमा ध्यान दिने,बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध समेत गरेका थिए।साथै वडालाई बालमैत्री र किशोरीमैत्री निर्माणमा पहल गर्ने समेत बताए। बालबालिकाहरुले अधिकारसँगै कर्तव्य पालना गर्न समेत लाग्नु पर्नेमा जोड दिएका थिए ।

कावासोती २ मा वडास्तरीय बालक्लब संजालका अध्यक्ष सजल भट्टराईको अध्यक्षता भएको कार्यक्रममा कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेको प्रमुख आतिथ्यतामा कार्यपालिका सदस्य, जनप्रतिनिधिहरु,टोल सुधार समितिका पदाधिकारीहरु, वडा भित्रका बाल क्लब सन्जाल र बालबालिकाहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

त्यस्तै कावासोति नगरपालिका ५ मा वडास्तरीय बाल क्लब संजालका अध्यक्ष मुस्कान पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती ५ का वडा अध्यक्ष निरज कुमार पुनको प्रमुख आतिथ्यतामा कार्यपालिका सदस्य, जनप्रतिनिधिहरु,टोल सुधार समितिका पदाधिकारीहरु, वडा भित्रका बाल क्लब सन्जाल र बालबालिकाहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

कावासोती नगरले यस आर्थिक वर्षमा कम्तिमा २ वडालाई बालमैत्री घोषणा गर्ने गरि वडा लक्षित कामहरु समेत गरिराखेको छ ।

Write your Comment