आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुर-१ मा शशांक कोइरालालाई एमालेका कृष्ण पौडेलको चुनौती

    प्रकाशित २०७९ कार्तिक १९, शनिबार (१ साल अघि)


राजेश घिमिरे,नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसले पूर्वमहामन्त्री शशांक कोइरालालाई उम्मेदवार बनाएको छ।

उनी यसअघिका तीन चुनावमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। चौंथो पटक उम्मेदवार बनेका उनी आसन्न प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

यो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्ण पौडेललाई उम्मेदवार बनाएको छ। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कोइराला तत्कालीन नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदा पौडेल क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए।

२०७२ सालमा जारी भएको संविधानअनुरूप नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भयो।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन बन्दा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा पर्‍यो। त्यतिखेर एमालेबाट प्रमुख दाबेदार पौडेल नै थिए। माओवादी केन्द्र निकै कमजोर रहेको उक्त क्षेत्रबाट राप्रपासहितको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कोइराला ४०२४ मतान्तरले विजयी भए।

२०७४ सालको निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा यो क्षेत्रमा सबैभन्दा बढी मत कांग्रेसको देखिन्छ। दोस्रोमा नेकपा एमाले, तेस्रो माओवादी केन्द्र छन्। नेपाली कांग्रेसले दललाई भोट हालिने समानुपातिक प्रणालीमा ३५९६३, एमालेले ३०९७७ र माओवादी केन्द्रले ५५८३ मत प्राप्त गरेका थिए। विवेकशील साझा पार्टीले २४९८, राप्रपा प्रजातान्त्रिकले ६७०, राष्ट्रिय जनमोर्चाले ६३७, राष्ट्रिय जनमुक्ति पार्टीले ६०८ र राप्रपाले ३६५ मत प्राप्त गरेका थिए।

प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविसोर पोखरेलले ३६५९६ भोट ल्याए। उनले पाएको मत गठबन्धनका प्रमुख दलहरू नेकपा एमाले र माओवादी केन्द्रले समानुपातिक प्रणालीमा पाएको भन्दा ३६ ले कम हो। उक्त निर्वाचनमा कोइरालाले ४०६२० भोट ल्याएका थिए। उनले पार्टीले समानुपातिक प्रणालीमा पाएकोभन्दा ४६५७ बढी भोट पाएका थिए। लोकतान्त्रिक गठबन्धनमा रहेका राप्रपा र राप्रपा प्रजातान्त्रिकको बाहेक उनले ३ हजार बढी पपुलर भोट ल्याएका थिए।

वाम गठबन्धनका उम्मेदवार पराजुलीले भने गठबन्धनभित्रैको मत पनि पाउन सकेनन्।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा यो क्षेत्रमा एमालेको जनमतमा केही सुधार भएको देखिन्छ।

यस क्षेत्रभित्र गैंडाकोट र देवचुली नगरपालिकाका सबै, कावासोती नगरपालिकाका ११ वडा र वुलिङटार गाउँपालिकाका सबै वडाहरू पर्छन्। गैंडाकोट नगरपालिकाबाहेकका तीन वटै तहका प्रमुख पद यसपालि एमालेले जितेको छ। अघिल्लो स्थानीय चुनावमा एमालेले जितेको गैंडाकोटको मेयर पद भने यसपालि कांग्रेसले जित्यो। अघिल्लो चुनावमा कांग्रेसले जितेको देवचुली नगरपालिका र वुलिङटार गाउँपालिकाको अध्यक्ष गत वैशाखमा भएको चुनावमा एमालेले जित्यो।

यहाँका ५२ वडामध्ये २६ वडाध्यक्ष एमालेले जितेको छ। २५ वडामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भए। एमालेका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको भन्दा ५९९ ले कम छ। माओवादी केन्द्रले केही वडामा मात्रै उम्मेदवार खडा गरेको थियो। उनीहरूले १९२१ भोट ल्याएका छन्।

५२ वटा वडाहरूमा गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूले ४२४७१ भोट ल्याएका थिए। एमालेका उम्मेदवारले ३९९५१ र राप्रपाका उम्मेदवारले २२६४ भोट ल्याएका थिए।

स्थानीय तहको निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो भने गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस बलियो छ। यहाँका १८ मध्ये ११ वडामा कांग्रेसले अध्यक्ष जितेको छ। एमालेले जितेका ६ र माओवादी केन्द्रले जितेको एउटा वडामा पनि नेपाली कांग्रेस कमजोर छैन। ती वडामा झिनो मतान्तरले कांग्रेसका उम्मेदवार पराजित भएका छन्। यहाँका तीन वटा वडामा एमालेले उम्मेदवार नै खडा गरेन। वडा नम्बर ७, १६, १७ र १८ नम्बर वडामा एमाले निकै कमजोर देखिन्छ। गैंडाकोट नगरपालिकामा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १५८१० भोट पाउँदा एमालेका उम्मेदवारले १२८०२ भोट पाएका थिए। माओवादी केन्द्रले उठाएका उम्मेदवारले ८२४ भोट ल्याए।

यो नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस बलियो हुँदाहुँदै पनि एमालेले मेयर पद जितेको थियो। एमालेका छत्रराज पौडेल कांग्रेसका गजेन्द्रबहादुर आलेले भन्दा २२४ बढी भोट पाएर निर्वाचित भएका थिए। यसपालि पनि एमालेबाट उम्मेदवार बनेका पौडेल कांग्रेसका मदनभक्त अधिकारीसँग २८२९ मतान्तरले पराजित भए। अधिकारी नेपाली कांग्रेसका पुराना नेता सूर्यभक्त अधिकारीका छोरा हुन्।

गैंडाकोटसँग जोडिएको देवचुली नगरपालिकामा भने एमाले बलियो छ। यहाँ एमालेले ११ वडा जित्दा कांग्रेसले ६ वटा वडा जितेको थियो। कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको दुई वटा वडा पनि एमालेले जित्यो। यहाँबाट एमालेका वडाध्यक्षका उम्मेदवारले १२४६३ भोट ल्याउँदा कांग्रेसका उम्मेदवारले १०३३२ र माओवादी केन्द्रकाले १०८४ भोट ल्याएका थिए। राप्रपाका उम्मेदवारले १३५३ भोट ल्याए।

जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाका ११ वटा वडामा पनि कांग्रेसभन्दा एमाले नै बलियो देखिन्छ। यहाँ ११ मध्ये ८ वडामा एमाले र ३ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेका थिए। माओवादीले उम्मेदवार खडा नै गरेन। यहाँ वडाध्यक्षका उम्मेदवारले पाएको मत कांग्रेसको भन्दा एमालेको ८२८ ले बढी छ। अधिकांश वडामा उम्मेदवार खडा गरेको राप्रपाले ४५० भोट पाएको देखिन्छ।

वुलिङटार गाउँपालिकामा एमालेभन्दा कांग्रेस बलियो देखिन्छ। वुलिङटार नवलपुरको पहाडी इलाका हो। यहाँका ६ वटा वडामा कांग्रेसले ५ वडा जितेको थियो। एमालेले एउटा वडामात्रै जितेको थियो। पहिले कांग्रेसले जितेको गाउँपालिका अध्यक्ष भने यसपालि एमालेले जित्यो। वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा यहाँ एमालेभन्दा कांग्रेस ५५० भोटले अघि देखिन्छ। तर यहाँ एमालेका दिपेन्द्र सुनारी कांग्रेसका शशिकिरण बस्ताकोटीले भन्दा १५९ बढी मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। बस्ताकोटी उक्त गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले एमालेका विद्रोही गिरीले भन्दा २२१६ भोट बढी ल्याएका थिए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला यसपालि पनि पहिलेजस्तै विकास निर्माणका वाचा गर्दै चुनावी प्रसारमा लागेका छन्। उनीमाथि आफ्नो निर्वाचन क्षेत्रमा कम चासो राख्ने गरेको गुनासो मतदाताको छ।

‘प्रभावशाली नेतालाई जिताएर पठाउँदा विकास निर्माणले गति पाउला भनेर नवलपुरवासीले पटक-पटक कोइरालालाई जिताए तर उनले विकासका काममा चासो नै दिएनन्। सामान्य कामबाहेक केही भएन,’ देवचुली नगरपालिकाका मतदाता आशिष मगर भन्छन्, ‘पूर्व-पश्चिम राजमार्गको बिजोग छ, समयमै सडकको काम नहुँदा यात्रुले दुःख पाएका छन्। यस विषयमा कहिल्यै बोलेको सुनिएन। तीन पटक जितेर जाँदा संसदमा बोलेकोसम्म सुन्न पाइएन।’

नेपाली कांग्रेस नवलपुरका सचिव होमराज रानाभाटले पनि कोइरालाप्रति आम मतदाताको गुनासो रहेको स्वीकारे। ‘अपेक्षाअनुसारको काम पाइएन भन्ने जनताको गुनासो छ, उहाँले यहाँबाट जितेर जति गर्नुपर्ने थियो त्यति गर्नुभएन भन्ने छ तर हामीले अबको पाँच वर्ष नवलपुर विकासको वर्ष हुनेछ भनेर विश्वास दिलाएका छौं,’ रानाभाटले भने, ‘विगतका कुरालाई छाडेर अबको उज्यालो नवलपुर निर्माणमा लागौं भनेका छौं।’

कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनताको माझमा गएको रानाभाटले बताए।

‘पार्टीभित्रबाट प्रधानमन्त्रीको मुख्य दाबेदार उहाँ हो, उहाँलाई जिताउन सक्यौं भने प्रधानमन्त्री बनेर यहाँको विकासमा आवश्यक काम गर्नुहुन्छ भनेका छौं,’ सचिव रानाभाटले भने।

उनले २०७४ सालमा कांग्रेस एक्लैले चुनाव जितेकोमा यसपालि माओवादीसमेत रहेकाले जित सहज रहेको दाबी गरे। आन्तरिक व्यवस्थापन गर्न नसक्दा स्थानीय चुनावमा देवचुली, कावासोती नगरपालिका र बुलिङटार गाउँपालिकामा नसोचेको परिणाम आए पनि प्रतिनिधि सभामा त्यस्तो नहुने दाबी उनले गरे। पार्टीभित्रको आन्तिरिक व्यवस्थापन मिलिसकेका र गठबन्धनको साझा उम्मेदवार भएकाले अघिल्लो पटकभन्दा बढी मतान्तरमा जित निकाल्ने दाबी उनले गरे।

कोइरालाले आफ्नो पहलमा देवचुली नगरपालिकामा ट्रमा सेन्टर राष्ट्रिय योजना परेको, पहाडी क्षेत्रमा कालीगण्डकी करिडोर, कावासोतीलाई सदरमुकाम बनाउन आवश्यक संरचना निर्माणजस्ता योजना अघि बढेको बताउने गरेका छन्। उनले वुलिङटार गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने, ५ वर्षभित्रमा नवलपुरलाई उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गर्दै भोट मागेका छन्। निर्वाचनको प्रचारमा लागिसकेपछि कोइरालाले नारायणगढ-बुटवल सडक निर्माणको जिम्मा लिएको कम्पनीसँग छलफल गरेका थिए। उनले सडक बिस्तारको काम समयमै नभएकोमा चासो राखेका थिए।

‘यो मेरो अन्तिम पटक हो। यसपटक जितेर यहाँको विकासमा योगदान गरेर बिदा लिन्छु भनेर उद्घोष गर्नुभएको छ,’ सचिव रानाभाटले भने।

कोइराला गत आइतबार नवलपुरको अमरापुरीमा चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। स्वकीय सचिव भरत तिवारीले कोइराला फेरि प्रचार प्रसारमा लागिसकेको बताए।

यो क्षेत्रमा कांग्रेसले २०४८ सालयताका सबै संसदीय निर्वाचन जितेको छ।

यसपालि एमालेका उम्मेदवार कृष्ण पौडेलले कांग्रेसका कोइरालालाई चुनौती दिएका छन्। नवलपुरवासीले केन्द्रीय राजनीतिमा प्रभाव भएका नेता भनेर पटक-पटक जिताएर पठाउँदा पनि कोइरालाले कुनै काम नगरेको आरोप उनको छ।

‘बिपी पुत्र, केन्द्रीय राजनीतिमा प्रभाव भएका नेताले जितेर जाँदा विकास, निर्माणमा ठूलै प्रगति होला, जिल्लामा प्रशस्त बजेट आउला भन्ने आशा सबैले गरेका थिए, जनताले राजकुमार नै आए भन्ने ठानेका थिए तर जितेर गएपछि उहाँले जिल्ला बिर्सने गर्नुभयो,’ पौडेलले भने, ‘जनताले अब उहाँबाट आशा राख्न छाडिसके। आफ्नो ठाउँको बारेमा बाहिरकाले होइन, स्थानीयले नै बढी बुझ्छन्, जिल्ला वस्तुस्थिति र आवश्यकता बुझेकालेमात्र जनताका लागि काम गर्न सक्छन् भन्ने जनताले राम्रोसँग बुझेका छन्।’

उनले जिल्लामा विकास, निर्माणको सन्दर्भमा नियमित बजेटबाहेक ठूला बजेट आउन नसकेको बताए। कोइरालाले जितेर गएपछि यहाँको विषयमा संसदमा कहिल्यै कुरा नउठाएको पौडेलले बताए।

‘जनप्रतिनिधि त सामान्य पेशा गर्ने मान्छेसँग पनि जोडिएको हुनुपर्छ। उनीहरूको पहुँचमा हुनुपर्छ। तर यहाँका सीमान्तकृत, दलित, उत्पीडित, जनजातिका समस्याको विषयमा बोलिदिने कोही छैन, चुनावमा भोट माग्न आउँदाबाहेक उनीहरूले जनप्रतिनिधि देख्नै पाउँदैनन्,’ पौडेल भन्छन्, ‘म ४० औं वर्षदेखि यहीँ छु, यही जिल्लाका जनतासँग बसेर उनीहरूका समस्याको विषयमा बोल्दै आएको छु। म यहाँका धेरै मान्छेलाई चिन्छु, कसको घर कता फर्किएको छ पनि थाहा छ मलाई। त्यसैले उनीहरूको समस्या समाधान गर्न सक्छु भन्ने अठोट लिएर आएको छु। भोट लिने जित्ने त्यसपछि नफर्किने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ।’

उनले नवलपरासीले खाद्यान्न, उद्योगबाट धेरै राजश्व बुझाउनेगरे पनि जिल्ला सधैं पछाडि पर्दै आएको बताए। उनले नारायणी नदीको किनारमा तटबन्धनगरी करिडोर बनाएर आर्थिक गतिविधि सञ्चालन गर्ने, नवलपुरलाई पोखरा जोड्ने सडक बनाउने, फलाम खनीलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, खण्डहर बनेको भृकुटी कागज कारखानालाई आर्थिक आयआर्जनको स्थल बनाउने र शैक्षिक केन्द्रका रूपमा विकास गर्ने, पूर्व-पश्चिम राजमार्गमा स्तरीय ट्रमा सेन्टर, अन्तराष्ट्रिय स्तरको खेल मैदान, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास, कृषि, पर्यटन, अव्यवस्थित बसोबासी, सुकुम्बासीका समस्या समाधानको योजना अघि बढ्नै नसकेको उनले बताए।

‘म यी कामलाई मूर्त रूप दिन लागिपर्छु। सीमान्तकृत, दलित, उत्पीडित, जनजातिको अधिकार स्थापित गर्ने, संविधानमा व्यवस्था भएका मौलिक अधिकारलाई स्थापित गर्ने काममा म लाग्छु,’ पौडेलले भने, ‘नवलपुर सुनको कचौरा हो। जनप्रतिनिधिले यसलाई बुझ्न सकेनन्। हात्ती, गैंडादेखि लालीगुराँससम्म पाइने ठाउँको प्रवर्द्धन हुनै सकेन।’

उनले कालिगण्डकी करिडोरका साथै नवलपुरबाट प्रदेश राजधानी पोखरा जोड्ने लिंक रोड कालोपत्रे गर्ने, सबै पालिकामा चक्रपथ निर्माण गर्ने, नारायणी नदीमा देवघाटदेखि त्रिवेणीसम्म तटबन्धन गरी पर्यटकीय सडक निर्माण गर्न पहल गर्ने, महाभारत तथा चुरे क्षेत्रबाट बगेर जमिन तथा बस्तीलाई प्रभावित गरेका खोलाको तटबन्धका साथै दायाँबायाँ सडक निर्माणको विशेष योजना सञ्चालन गर्ने, नारायणगढ-बुटवल सडकको बिस्तार समयमै सम्पन्न गर्न पहलकदमी लिने, सबै वडालाई कालोपत्रे सडकले जोड्ने, एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने, सबै घरमा विद्युत् पुर्‍याउनेलगायतका पूर्वाधार विकासका योजना अघि सारेका छन्।

एमाले गैंडाकोट नगर कमिटीका अध्यक्ष षडानन्द लामिछानेले स्थानीय चुनावमा गैंडाकोट नगरपालिकामा केही कमजोर जस्तो देखिए पनि त्यसलाई सुधारिएको बताए।

‘प्राविधिक कारणले हामीले मेयर गुमाउनुपर्‍यो, विभिन्न दलहरूसँग तालमेल गरे पनि उनीहरूको भोट हाम्रा उम्मेदवारले पाउन सकेनन्,’ लामिछानेले भने, ‘यसपालि त्यस्तो कमजोरी हुँदैन।’

उनले कोइराला यहाँ भोट माग्न मात्र आउने हुन् भन्ने कुरा नवलपुरवासीले बुझिसकेको दाबी गरे।

‘उहाँले १५ वर्षमा नवलपुरका लागि केही गर्न सक्नुभएन। त्यसैले यहाँका जनताले विकल्प खोजेका छन्,’ लामिछानेले भने, ‘हामी यहाँको विकासका लागि एमालेले जसरी पनि जित्नुपर्छ भनेर लागेका छौं।’
सेतोपाटीबाट

Write your Comment