आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउँदै कावासोतीका किशोरी अभियन्ताहरु

    प्रकाशित २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि)


कावासोती ।कावासोती नगरपालिकामा किशोरी अभियन्ताहरुले यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउने अभियान सुरु गरेका छन् । समाजमा यौन र प्रजनन स्वास्थ्यको बारेमा खासै छलफल र बहस नहुँदा विभिन्न घटना सार्वजनिक भैरहेको छ । कावासोतीका ३५ जना किशोरी अभियन्ताहरु विद्यालय र समुदाय स्तरमा अभियान सुरु गरि खुल्ला छलफलको पहल गर्न थालेका छन् ।

कावासोती नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले यौन तथा प्रजनन अधिकार सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम पश्चात् यो अभियान सुरु गरेका हुन् । यो अभियान अन्तर्गत किशोरकिशोरीहरु र उनीहरुका अभिभावकलाई सँगै राखि किशोर अवस्था, महिनावारी सरसफाई, यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न विषयमा संयुक्त छलफल र अन्तरक्रिया गर्ने गर्द्छन ।

मंगलबार कावासोती नगरपालिका वडा नम्बर ६ को जनता माध्यमिक विद्यालयमा विद्यालयका किशोर र किशोरीहरुलाई सो अभिमुखिकरण सम्पन्न गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा खुला रुपमा छलफल नगर्ने प्रचलन रहेको अवस्थामा सोको न्युनिकरणको लागि बालबालिका, युवा र समुदायका अगुवाहरु सहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयं किशोरीहरुद्धारा नै सो अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा आफ्नै उमेर समूहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारी दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफूले नजानेको विषयहरु सोध्न पाएकोमा निकै खुसी लागेको कार्यक्रममा सहभागी किशोरीहरुले बताए ।विद्यालयमा यो पढाई हुँदा लाज लाग्ने र आफुलाई लागेको प्रश्न पनि सोध्न डर लाग्ने गरेको तर आफ्नै उमेरका दाइ दिदिहरुसँग सोध्न र जान्न सजिलो भएको किशोरीको बताए ।

समाजमा यस्ता विषयमा खासै बहस र छलफल नहुँदा नकारात्मकता तर्फ पनि किशोर किशोरीको ध्यान जान सक्ने भएकोले उमेर अनुसारका विषय खुलेर गर्न सक्ने वातावरणको आवश्यकता रहेको युवा अधिकारकर्मी पवन भुर्तेलले बताउनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वटा वडामा ३५ जना १३ देखि १९ उमेर समूहका किशोरीहरुलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् ।

कार्यक्रम कावासोति नगरपालिका वडा नं ६, रोट्याक्ट क्लब अफ कावासोती, रोट्याक्ट क्लब अफ कावासोती सिटि, नगर स्तरीय युवा संजाल, बिष्णुनगर बाल क्लब र विद्यालयको संयुक्त आयोजनामा सन्चालन भएको थियो ।कार्यक्रममा विद्यालयमा अध्ययनरत ३० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा किशोरी अभियन्ताहरु सवनम सुनार, युतिका तिवारी , बिमाया नेपाली र पवन भुर्तेलले सहजीकरण र छलफल गरेका थिए ।

Write your Comment