

नवलपुर । मध्यविन्दु-१० मा डिजिटल सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जागृति बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान, पिपिडिसी नेपाल, एशिया सेन्टर, कन्सोर्टियम नेपाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, राष्ट्रिय बालमैत्री स्थानीय शासन फोरमको संयुक्त आयोजना तथा जनता आदर्श माध्यमिक विद्यालय, मध्यविन्दु-१० मंगलचौरको समन्वयमा डिजिटल सुरक्षा सम्बन्धी एकदिने तालिम गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले संस्थाले मध्यविन्दु नगरपालिकासँग सहकार्य गर्दै किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ३० जना साथी शिक्षकमार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताइन्। हाल डिजिटल माध्यमबाट बालिका तथा महिलामाथि हुने हिंसा र दुर्व्यवहार बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबारे सचेतना बढाउनु नै तालिमको मुख्य उद्देश्य रहेको उनले जनाइन्।
किशोरी सशक्तिकरण कार्यक्रमकी साथी शिक्षक शिरिष्का अधिकारीले अनलाइन सुरक्षा, डिजिटल खतराका प्रकार, इन्टरनेटमार्फत हुने ठगी तथा जालसाजी, र सुरक्षित रहन अपनाउनुपर्ने उपायबारे विस्तृत सहजीकरण प्रस्तुत गरिन्। उनले प्रविधिको सही प्रयोगबारे समाजमा अझै धेरै चेतना आवश्यक रहेको बताउँदै आसपासका धेरै मानिस डिजिटल जोखिमको शिकार भइरहेकाले सचेतना अनिवार्य भएको धारणा राखिन्।

सहभागी किशोर समीर विस्टले तालिमले अनलाइनबाट हुन सक्ने खतरा तथा त्यसबाट कसरी सुरक्षित रहने भन्ने महत्वपूर्ण सिकाइ दिएको बताए। त्यस्तै सहभागी किशोरी अनुष्का अधिकारीले अनलाइनमा आइडी बनाउँदा वा साथी बनाउँदा सोचविचार गर्नुपर्ने, सामाजिक सञ्जालमा प्राप्त हुने लिंक सचेत भएर मात्रै खोल्नुपर्ने तथा आफूले सिकेका विषय साथीसँग पनि साझा गर्ने प्रेरणा पाएको बताइन्।
कार्यक्रमको अध्यक्षता गरेकी कश्मी कुमालले डिजिटल सुरक्षा सम्बन्धी नयाँ शब्दावली तथा सिकाइ प्राप्त भएको बताउँदै तालिमलाई अझ प्रभावकारी बनाउन भिडियो सामग्री प्रयोग गर्न सकिने सुझाव प्रस्तुत गरेकी थिइन् ।