

देवचुली । नवलपुरमा जारी अन्तर संस्थागत विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधी अमर इङ्गलिस स्कुल रजहरले जितेको छ । प्याब्सन नवलपुरको आयोजनामा जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा अमर इङ्गलिस स्कुल रजहरले नवलपुर आवासीय मावि चोरमारालाई हराउँदै उपाधी जित्न सफल भएको हो ।
मंगलबार सनलाइट सामुदायिक विकास केन्द्रको खेलमैदान कावासोती-१६ मा भएको फाइनल खेलमा अमरले नवलपुरलाई १-० गोल अन्तरले हराउँदै उपाधी आफ्नो पोल्टामा पारेको हो । अमरका रोहन पुनले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो । फाइनल खेलमा अमर बोर्डिङ स्कुलका रोहन पुन म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगिताको उपाधी जितेको अमर इङ्गलिस स्कुलले नगद २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-बिजेता नवलपुर आवासीय माविले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा अमर इङ्गलिस स्कुलका रोहन पुन सर्वाधिक गोलकर्ता र सुमित पुन उत्कृष्ट गोलकिपर भएका थिए ।