आज:  २०८२ मंसिर २३, मंगलबार | Tue, 09, Dec, 2025 Search
FLASH NEWS

कागती व्यवसायी संघमा गिरी

    प्रकाशित २०८२ मंसिर २३, मंगलबार (१० घण्टा अघि)


नवलपुर । कागती उत्पादक तथा व्यवसायी संघ नवलपुर (एलपेन)को प्रथम अधिवेशनले यूवा कृषि उद्यमी विद्रोही गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कृषि उपज थोक बजार ब्यवस्थापन समितिको सभाहल कावासोतीमा भएको अधिवेशनले उपाध्यक्षमा दिपक चापागाई, सचिवमा ताराप्रसाद भुसाल , कोषाध्यक्षमा प्रेमराज ढुङ्गाना र सदस्यहरुमा छविलाल लामा, बिष्णुप्रसाद मानन्धर , नारायण न्युरे, खगराज गौतम, निलकण्ठ भुसाल, प्रेमनारायण पाण्डे र टिकाबहादुर सारुलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डा. देवराज अधिकारीले किसानहरुको उत्पादन गुणस्तरीय तथा परिणाम दुबैमा अब्बल हुन आबश्यक भएकाले प्राबिधिक पक्ष तथा उत्पादनमा किसानलाई कार्यालय सहयोग गर्ने बताउनुभयो । बिषादीको प्रयोग ब्यापक रुपमा उठ्ने भएकाले रासायनिक बिषादी भन्दा जैविक बिषादीमा किसानहरुले जोडदिदै उत्पादन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । रोगकिराको मसस्या छ तिनीहरु कुन मित्रु हुन् कुन खराब हुन् भन्ने किसानले छुट्टाउन सक्दा उत्पादनलाई राम्रो बनाउन सकिन्छ उहाँले भन्नुभयो ।

कृषि विकास कार्यालय नवलपुरमा प्रमुख राजेश्वर सिलवालले कागती उत्पादनका हिसावले नवलपुरले प्रदेश स्तरमै ख्याती कमाएको बताउनुभयो । नवलपुर कागती र सुन्तलाको उर्वर भूमि हो त्यसमा किसान संग हातेमालो गरेर कार्यक्रमहरु लैजानेमा आफूहरु लागिपरेको बताउनुभयो । कृषि उपज थोक बजार ब्यवस्थापन समिति कावासोतीका अध्यक्ष खेम काफ्लेले किसानका उत्पादन र बजारको तालमेल मिलाउन आबश्यक भएको धारणा राख्नुभयो ।

सोही अवसरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका कृषि अधिकृत रणबहादुर महत्तोले किसानहरु संगठित भएर लाग्नु कागती उत्पादक किसानहरुलाई महत्वपूर्ण भएको बताउनुभयो । मंसिर पुस कागतीको काँटछाँट तथा गोडमेलको समय भएकाले किसानहरुले यो समयमा गोडमेलममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कागती उत्पादक तथा ब्यवसायी संघका अध्यक्ष विद्रोही गिरीले किसानहरु एक जुट नहुँदा उत्पादनले बजार समस्या भोग्नु परेका बताउनुभयो । संघ मार्फत किसानहरु एकजुट हुदै अवको उत्पादनलाई बजारको पहुँचमा पु¥याउनु नै संघको मुख्य कार्यभार रहेको छ उहाँले भन्नुभयो– ‘भारतको कागतीको बजारले नेपाली कागती बिस्थापित गर्ने काम भएको छ त्यसमा पहिलो प्रयोग नेपाली उत्पादन भन्ने कुरा स्थापित गर्नुछ’। नेपाली माटो र त्यसको उत्पादनलाई स्वदेशमै रुचीको बिषय बनाउनु आजको आबश्यकता हो उहाँले भन्नुभयो– ‘ नेपाली कागती फष्ट च्वाइस अभियान थाल्नुपर्छ ’। सरकारले देशको उत्पादनको आधारमा आयात र निर्यातमा ध्यान दिनुपर्छ ।
देशभर रहेका कागती किसानहरुलाई संघ संग आबद्ध गराउदै अगाडि बढ्ने नीति अधिवेशनले पारित गरेको छ । कागती उत्पादन हुने जिल्लाका किसानले उत्पादनमा रोग किराको समस्या भोग्नु परेको छ भने उत्पादित बस्तुको बजार अभाव झेल्नु परेको छ ।
अधिवेशनले कागती बजारका लागि नेपाल सरकार संग डेलिगेशन मार्फत समस्याहरु सुल्झाउन अनुरोध गर्ने, सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने, कागतीको खरिद बिक्रीको ब्यवस्थापन मिलाउने, रोग किरा ब्यवस्थापनका लागि किसानहरुमा ज्ञान र सिपको विकास गराउने, संकलन तथा भण्डारको ब्यवस्थापन गर्ने लगाएतका पाँच बुँदा मागहरु राखेर अगाडि बढ्ने निर्णय समेत गरेको छ । नवलपुरमा हाल ३५ हजार कागतीको विरुवा रहेका छन् भने १४ हजार विरुवाले नियमित उत्पादन दिएका छन् । आगामी बर्ष थप विरुवाबाट उत्पादन हुनेछन् ।

Write your Comment