आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

देवचुलीका ८० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित २०७९ श्रावण २३, सोमबार (१ साल अघि)


एलिना केसी,देवचुली । नवलपुरको देवचुली नगरपालिकाभित्र रहेका अति विपन्न ८० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । “खुसीखुसी विद्यालयमा बालबालिका पुर्‍याउने अभियानमा निरन्तर हामी”भन्ने नारा सहित देवचुलीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ८० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । सोमबार जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना र किण्डर ईन नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेको पृथ्वी माध्यमिक विद्यालयका ४५ जना, नव नेपाल आधारभूत विद्यालयका २५ जना र जनज्योति माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुलाई झोला, १ दर्जन कपी, कलम, १ वटा साबुन, ब्रस, ज्यामिती बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री वितरण कार्यक्रममा पृथ्वी मा.वि व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर घर्ती मगरको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले भविष्य निर्माण गर्ने अवस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दा थप हौसला र उर्जा मिल्ने बताउनुभएको थियो । उहाँले आगामी दिनमा देवचुली नगरपालिकामा यस्ता थुप्रै कार्यक्रम ल्याउन आग्रह गर्दै यसमा नगरपालिकाले पनि समन्वय गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले कोभिडका कारण देवचुलीमा बालबालिकाका क्षेत्रमा कार्यक्रम गर्न नसकिएको गुनासो गर्दै अब कार्यक्रमलाई निरन्तर दिने बताउनुभएको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमको बारे प्रकाश पार्दै जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किण्डर ईन नेपालको सहयोगमा नवलपुरका एक सय भन्दा बढि आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाई सहयोग गरिएको बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिका वडा नं १० मा किशोरीहरुका लागि ४ करोड लगानीमा किशोरीमैत्री अध्ययन केन्द्र आभास निर्माणाधिन अवस्थामा रहेको समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।उहाँले आफ्नो वडामा रहेका अति विपन्न विद्यार्थीका लागि सहयोग गर्न संस्थालाई आग्रह गरेको र सोहीअनुसार विद्यार्थीहरुलाई सहयोग गरेकोमा जागृति बाल तथा युवा नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, नगरप्रवक्ता तिल प्रसाद काफ्ले, जागृति बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसी, देवचुली नगरपालिका शिक्षा शाखाका देवराज काफ्ले, पृथ्वी मा.विका पूर्व अध्यक्ष गनबहादुर राना, पृथ्वी मा.विका सहायक प्रधानाध्यापक डिलाराम भुसाल, नव नेपाल आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद गौतम, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राजु चापागाईले गर्नुभएको थियो ।

Write your Comment