आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

३५ बुँदे घोषणापत्र जारी गर्दै दशरथचन्द नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०७९ श्रावण ९, सोमबार (१ साल अघि)


बैतडी। ३५ बुँदे घोषणापत्र जारी गर्दै बैतडीको दशरथचन्द नगरपालिकामा युवामैत्री स्थानीय शासन सम्बन्धि तालिम सम्पन्न भएको छ । युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने उद्देश्य सहित देशभरीका ७ वटा नगरपालिका मध्येको एक दशरथचन्द नगरपालिकामा साउन ६ गतेदेखि सुरु भएको युवा तथा किशोर–किशोरीमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागि हरेक क्षेत्रका युवाहरुको छलफलबाट तयार गरिएको ३५ बुँदे घोषणापत्र दशरथचन्द नगरपालिका मेयर पुस्करराज जोशी (लख्खाभाई) लाई बुझाउँदै तालिम सम्पन्न भएको हो । तालिममा युवाहरुले युवा तथा किशोर–किशोरीमैत्री स्थानीय शासन प्रवर्द्धन कसरी गर्ने भन्ने बारेमा सिकेका थिए । तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनोट गर्ने कार्यक्रम बमोजिम सुदूरपश्चिम प्रदेशबाट दशरथचन्द नगरपालिका छनोट भएको थियो ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै दशरथचन्द नगरपालिकाकोे संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ । दशरथचन्द नगरपालिकामा आयोजना भएको तालिमको उद्घाटन र समापन कार्यक्रममा दशरथचन्द नगरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई), प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्द लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने तालिममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्ग, किशोरी, युवा उद्यमी, कृषक, नीजि क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पुर्व सदस्य, संचारकर्मी तथा अधिकारकर्मी लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तालिममा विभिन्न्न सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । युवामैत्री स्थानीय शासनको प्रवर्द्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एक एक स्थानीय तहको छनौट गरी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा युवाका सवालमा प्रमुख सरोकारवालाहरुको लागि युवामैत्री स्थानीय शासनसँग सम्वन्धी क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै दशरथचन्द गनरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई) ले युवाहरुको समग्र विकास तथा युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विक्रम बहादुर चन्दले पनि युवा देशको मुल शक्ति भएकाले हरेक कार्यक्रममा युवा परिचालन अनिवार्य रहेको बताउनुभयो । युवाको क्षमता विकासका लागि यस तालिमले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

दशरथचन्द नगरपालिकामा युवामैत्री स्थानीय शासनको अवलम्बन, कार्यान्वयन, घोषणा र दिगोपनामा योगदान दिनका लागि गाँउपालिकाका सरोकारवालाहरुबाट युवामैत्री स्थानीय शासन सहयोग समितिको निमार्ण गरी स्वयमसेवी रुपमा युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि योगदान गर्ने आधार निमार्ण गरिएको छ ।
कार्यक्रममा उपस्थित सहभागीहरुले दशरथचन्द नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरुले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउदै युवामैत्री दशरचथन्द नगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा उल्लेख बुँदाहरु कार्यन्वयनका लागि सबै क्षेत्रका सरोकारवालाबाट सहयोगको अपेक्षा गरेका छन् ।

Write your Comment