आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क

    प्रकाशित २०७८ माघ १०, सोमबार (२ साल अघि)


काठमाण्डौ । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ ।

मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुँगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।

सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।

नशाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी

प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’

संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।

मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।

Write your Comment