आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेल बिदाई

    प्रकाशित २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)

काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेल बिदाई हुनुभएको छ। सरकारले पहिलो पटक ढुंगेललाई २०७२ फागुन १९ गते पहिलो ४ वर्षे कार्यकाल पुरा गरी पुनः दोस्रो कार्यकालको लागि २०७७ जेष्ठ १२ गते नियुक्ति गरेको थियो ।
करिव पाँच बर्ष परिषद्को उपाध्यक्षमा रहनु भएका ढुंगेलको नयाँ सरकार परिवर्तन भएसंगै विदाई भएको हो।
आज परिषद्‍मा आयोजित विदाई कार्यक्रममा उहाँले आफू परिषद्को उपाध्यक्ष भएर युवाको नेतृत्व विकास र उद्यमशीलताका क्षेत्रमा काम गरेको बताउनुभयो । पाँच वर्षको अवधिमा परिषद्ले सम्पादन गरेका कार्यक्रमको फलस्वरूप समस्त नेपाली युवाको एक अभिभावकीय निकाय तथा पहिलो सम्पर्क विन्दुको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । “आज हरेक नेपाली युवाको सरोकारको पहिलो निकाय तथा आशा र भरोसाको केन्द्र परिषद् बनेको छ” उहाँले भन्नुभयो–“अब आउने नेतृत्वले परिषद्लाई युवाको नेतृत्व विकासको थलो रुपमा लैजानु पर्दछ ।”
उहाँले युवामा स्वदेशमा नै केही न केही काम गर्ने जोशजागर आफूले पाएको समेत बताउनुभयो । “पाँच बर्ष मेरो कार्यालय युवाको नेतृत्व विकासमा नै केन्द्रीत रह्यो” उहाँले भन्नुभयो, “ नेपाली युवामा मुलुकमा केही गर्नुपर्दछ भन्ने आकांक्षा मैले पाए। ति युवालाई तालिम दिनुपर्दछ । अनि उनीहरु मुलुकमा नै स्वरोजगार हुन सक्दछन् ।”
निर्वतमान कार्यकारी उपाध्यक्ष ढुंगेलले परिषद् अहिलेसम्म गरेका कामबाट युवालाई आकार दिन सकिने बताउनुभयो । उहाँले अब आउने नेतृत्वले युवालाई सीप र रोजगारसंग जोडेर स्वदेशमा नै स्वरोजगारको सिर्जना गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
विदाई कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुंगानाले ढुंगेलको कार्याकालमा युवालाई नेतृत्व विकास गर्न सकिएको बताउनुभयो । उहाँले थोरै बजेटमा पनि उहाँले युवाका क्षेत्रमा धेरे काम गरेको उल्लेख गर्दै सहुलियपूर्ण कर्जा, नमुना युवा संसद जस्ता लोकप्रिय कार्यक्रम संचालन भएको बताउनुभयो ।
परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले युवा क्षेत्रमा अहिलेसम्म भएको उपलब्धिको रक्षा गर्दै थप उपलब्धी हासिल गर्न सवैको सहयोग जरुरी रहेको बताउनुभयो ।
दुई पटक परिषद्को उपाध्यक्ष हुनु भएका ढुंगेलको कार्यकालमा अहिलेसम्म सहुलितपूर्ण कर्जा, विना धितो ऋण प्रवाह, नमुना युवा संसद, युवा नवप्रद्र्धधन केन्द्र युवा क्षेत्रमा भएका मुख्य काम हुन् ।
सहुलितपूर्ण कर्जा एक लाख १२ हजार, युवा उद्यम समूहलाई ५ लाखका दरले उद्यमका लागि हालसम्म ३९७ समूहलाई बिना धितो बिना व्याज ऋण प्रवाह गरिएको छ ।
यस्तै विगत चार बर्षदेखि युवालाई संसदीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले नमुना युवा संसद अभ्यास कार्यक्रम हुँदै आएको छ । हालसम्म ९१ स्थानीय तह, ७ प्रदेश र १ संघीय तह गरी जम्मा १८४ वटा तहमा नमुना युवा संसदको अभ्यास भएका छन् ।
यस्तै देशभरका युवालाई जोड्नका लागि युवा क्लब संजाल समेत परिषद्ले निर्माण गरेको छ । यस्तै एक शिक्षणसंस्था एक उद्यम कार्यक्रमको थालनी, विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुको अलग अलग सञ्जाल बनाई व्यापक युवा परिचालनको ढाँचा, एक स्थानीय तह, एक वडा, एक युवा क्लब, एक उद्यम कार्यक्रम मोडेल, राष्ट्रपति युवा महिला उद्यमको मोडेल कार्यक्रम पाँच बर्षमा संचालन भएका छन् ।
यस्तै ढुंगेलको पालामा नै २०१६ मा नेपालको युवा विकास सुचाङ्कमा ०.६४७ रहेकोमा २०२० मा आइपुग्दा उक्त सूचकाङ्कमा सुधारआई ०.६८९ पुगेको छ ।
यस्तै सोही तथ्याङ्क अनुसार सन २०१० मा १४५ औं स्थानमा रहेको नेपाली युवाको अवस्था सन २०१६ मा आइपुग्दा ६८ वटा देशलाई उछिनेर ७७ औँ स्थानमा पाइपुगेको छ । यस्तै अन्तर्राष्ट्रिय युवा कमिटीद्वारा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेललाई विश्व युवा पुरस्कार–२०१८ बाट सम्मानित हुनुभएको थियो। यस्तै नेपालको संविधान युवामैत्री भएकाले बल्र्ड फ्युचर काउन्सिलबाट नेपाललाई सन् २०१९ को फ्युचर पोलेसी सिल्भर अवार्ड प्राप्त गरेको छ ।

Write your Comment