आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

लैंगिक मैत्री शौचालय: नवलपुरका अधिकांश पालिका र सरकारी कार्यालयमा छैन

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


कृशला सापकोटा, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाकी कर्मचारी निर्मला कंडेल महिनावारीको समयमा कार्यालय जान परेपछि सधै चिन्तित हुने गर्दछिन् ।
घरदेखि आफ्नै झोलामा सेनेटरी प्याड बोकेर लानु पर्ने बाध्यता र कार्यालय पुगि सकेपछि सेनेटरी प्याड परिवर्तन गर्नु पर्दा आई पर्ने समस्या उनको चिन्ताको बिषय हो ।कार्यालयमा महिला शौचालय भए पनि शौचालयमा गएर सेनेटरी प्याड परिवर्तन गरिसके पछि त्यसलाई विसर्जन गर्ने व्यवस्था छैन जसले गर्दा देवचुली नगरपालिकाका महिला कर्मचारीहरुले सेनेटरी प्याड परिवर्तन गरिसके पछि प्रयोग गरेर फाल्नु पर्ने प्याड पनि आफै बोकेर फिर्ता ल्याउनु पर्छ ।
देश संघियतामा गएपछि बनेको यो देवचुली नगरपालिकाको आफ्नै नयाँ भवन बनेको छ । र अधिकाशं वडा कार्यालय पनि नयां बनेको छ तर नगरपालिकाको नयां भवन र वडा कार्यालयहरुमा पनि लैंगिक मैत्री शौचालय छैन् । जसले गर्दा देवचुली नगरपालिकाका महिला कर्मचारीहरुलाई सेनिटरी प्याड घरबाटै बोकेर जानु पर्ने र प्रयोग गरिसकेको प्याड पुन आफ्नै झोलामा हालेर घरसम्म ल्याएर फाल्नु पर्ने बाध्यता रहेको छ ।
यस्तो समस्या देवचुली नगरपालिकामा मात्र होईन नवलपुरको अधिकाशं सरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीहरुको हो । न त कार्यालयमा सेनेटरी प्याड नै हुन्छन् न त लैंगिक मैत्री शौचालय नै । देवचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारीले नगरपालिकाको नयां भवन बने तापनि शौचालय लंगिक मैत्री नभएको बताईन् । तिवारीका अनुसार नगरपालिकाले महिला कर्मचारीहरुको लागि सेनटरी प्याड खरिद गरेर कार्यालयमै पाउन व्यवस्था पनि गर्न सकेको छैन ।

नमुना सदरमुकाम बनाउन भन्दै एकीकृत भवनको अभ्यास शुरु भएको नवलपुरमा नयाँ जिल्लाको सदरमुकाम कावासोती आएसँगै यहाँ जिल्ला स्तरका सबै कार्यालयहरु कावासोती आसपासका क्षेत्रमा भाडा लिएर बसे ।धेरै कार्यालयहरु अझै आफ्नै भवन बनाएर सर्न सकेका छैनन् । नवलपुरमा रहेका सरकारी कार्यालयहरु अधिकाशं भाडामा रहेको र भाडामा रहेका सरकारी कार्यालयमा महिला मैत्री शौचालयको कुरा त पैरै महिला शौचालय समेत छुट्टै नभएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताईन् ।प्रमुख जिल्ला अधिकारी पंगेनीले आफ्नै भवन रहेको सरकारी कार्यालयहरुमा महिला शौचालय छुट्टै भए पनि निकै कम कार्यालयमा मात्रै लैंगिक मैत्री शौचालय भएको बताईन ।

झन्डै १ वर्ष अघि जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी भएर आएकी मनमाया पंगेनी आउँदासम्म पनि जिल्ला प्रशासन कार्यालयमा समेत महिलाहरुका लागि छुट्टै शौचालय थिएन् । आफु आएपछि महिला र पुरुषका लागि छुट्टाटुटै शौचालय छुटाएको उनले बताईन् । लंैगिक मैत्री शौचालय नहुँदा महिनावारी भएको बेला सेनेटरी प्यार्ड उपलब्ध नहुने र उपलब्ध भए तापनि प्रयोग गरिसकेको प्यार्ड कहाँ फाल्ने बन्ने बिषयलाई लिएर महिलाहरुलाई निकै असहज हुने गरेको र आफैले पनि त्यो भोग्नु परेको पंगेनीको अनुभव छ ।

नवलपुरमा जिल्ला स्तरका ४० बढी सरकारी कार्यालय, ८ वटा पालिका, झन्डै १ सयवटा वडा कार्यालय रहेका छन् । ति मध्ये नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धेरै अघि देखि महिला मैत्री शौचालय प्रयोगमा ल्याएको भए तापनि जिल्ला प्रशासन कार्यालय, ट्रफिक प्रहरी, स्वास्थ्य कार्यालय जस्ता महत्वपुर्ण कार्यालयमा समेत महिला मैत्री शौचालय सञ्चालनमा आएका छैनन् ।
त्यस्तै आफ्नै कार्यालय भवन रहेको मालपोत कार्यालय, नापी कार्यालयमा महिला मैत्री शौचालय रहेको छ । तर आफै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन सक्ने नवलपुरका पालिकाहरुले समेत अझै महिला मैत्री बनाउने विषयमा ध्यान पुर्याउन सकेका छैनन् । हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले हुप्सेकोट गाउँपालिकाको कार्यालयमा अहिलेसम्म महिला मैत्री शौचालय नभएको बताइन् । उनले भनिन् – अब बन्ने भवनमा भने महिला मैत्री शौचालय बनाउने तयारी गरेका छौं ।

स्थानीय तहले आफू मातहतका विद्यालयहरुमा छात्रा मैत्री शौचालय बनाउन बजेट उपलब्ध गराउने, सेनेटरी प्याड प्रदान गर्ने जस्ता कार्यक्रम संघीय सरकारसँगको सहकार्यमा गरेको भए पनि आफ्नै कार्यालयमा यस विषयमा ध्यान दिन भने सकेको देखिदैन ।

Write your Comment