आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सर्पदंशको जोखिममा पूर्वी नवलपरासी

    प्रकाशित २०७८ श्रावण ९, शनिबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती
पूर्वी नवलपरासीमा सर्पदंशको जोखिम बढ्दो पाईएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालको गत वर्ष २०७७/ ०७८ को तथ्याङ्क अनुसार सर्पदंशका ७५ जना बिरामिको उपचार गरिएको छ । जसमध्ये ३३ जना महिला र ४२ जना पुरुष छन् । बिषालु र अबिषालु दुवै गरि ७५ जनाले अस्पतालबाट उपचार लिएका हुन् ।
अघिल्लो वर्ष २०७६/०७७ मा अस्पतालमा ४३ जनाको सर्पदंशको उपचार गरिएको अस्पतालका सुचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । यस तथ्याङ्क अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष ३२ जना बढि उपचारमा आएका छन् ।
सुचना अधिकारी सुवेदीका अनुसार अस्तालमा आएका ४ जनालाई मात्रै सर्पको टोकाई बिरुद्धको औषधी ( एन्टी स्नेक भेनम ) दिईएको छ । जसमा ६२ भाइल मात्रै औषधी खर्च भएको छ । अस्पतालमा आउने सर्पदंशका बिरामी सबैलाई औषधी ( एन्टी स्नेक भेनम ) दिनु पर्दैन । सुवेदीका अनुसार कतिपयलाई अबिषालु सर्पले टोकेको हुन्छ भने कतिपय विषालु सर्पले टोके पनि बिरामीको शरीरमा विष पसेको हुँदैन ।
जिल्लामा सर्पदंशका बिरामिको संख्या अझै बढि रहेको सुवेदी बताउनुहुन्छ । गैंडाकोट , देवचुली नगरपालिका र बुलिङ्टार गाउँपालिकाका धेरैजसो सर्पदंशका बिरामी भरतपुर जाने गरेकाले उनीहरुको तथ्याङ्क जिल्लामा नहुने उहाँको भनाई छ ।
अन्य समयमा भन्दा गर्मी तथा वर्षाको समयमा सपदंशका घटना धेरै हुन्छ । केही दिन अगि मात्रै गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको थियो । सोही गाउँका चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले पनि केहि महिना अगि सर्पदंशबाट ज्यान गुमाउनुभएको थियो ।
गर्मि समयमा जिल्लामा करेट र गोबन सर्पको बिगबिगी नै हुने गरेको कालीगण्डकी अस्पताका डाक्टर तथा नेपाल टक्सोनोलोजी एसोसिएसनका अध्यक्ष डा. छविलाल थापा बताउनुहुन्छ । यी सर्प बिषालु सर्प हुन् । थापाका अनुसार गोबन बढि बिषालु हुन्छ भन्ने आम मानिषले सोच्छन् तर करेट सर्प बढि विषालु हुन्छ । करेट धेरैजसो घर वरपर र भित्र बस्ने गर्छ भने गोबन सर्प आहाराको खोजीमा हिड्ने गर्छ ।
सर्प प्वालभित्र बस्ने हुँदा गर्मीमा जमिन तातेपछि गर्मी छल्न बाहिर निस्कने , पानी पर्दा प्वालमा पानी पस्ने हुँदा बाहिर ओभानोमा निस्कने र आहाराको खोजीमा निस्कने भएकाले गर्मि र वर्षाको समयमा सर्पदंशका घटना बढि हुने गरेको थापा बताउनुहुन्छ । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा सबैभन्दा बढि सर्पदंशका घटना हुने गरेको थापाले जानकारी दिनुभयो । त्यसपछि दुम्किवास , मध्यविन्दुको भ्यूरान , चोरमारा , कावासोतीको मगरकोट , हुप्सेकोटको शंखदेव , देवचुलीको प्रगतीनगरमा सर्पदंशका घटना बढि हुने गरेको थापाले बताउनुभयो ।
यसैबीच गत वर्ष जिल्ला अस्पतालमा डेङ्गुका ४ जना , मरेरियाको एक जना र स्क्रबटाईफसको ५ जना बिरामीको मात्रै उपचारमा भएको छ । विगतका वर्षहरुमा भन्दा डेङ्गुका ४ जना , मरेरियाका बिरामी कम भएको सुवेदीले जानकारी दिनुभयो । स्क्रबटाईफसका बिरामी भने बढेको उहाँको भनाई छ ।

Write your Comment