आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा प्रतिबन्धीत तथा स्वीकृत नभएका धानको बीउ नष्ट

    प्रकाशित २०७८ जेष्ठ ११, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती ।
जिल्लाका विभिन्न स्थानीय तहबाट जफत गरिएको प्रतिबन्धीत तथा स्वीकृत नभएका धानको बीच सोमबार नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा कृषि ज्ञान केन्द्रको समन्वयमा गरिएको एग्रोभेटहरुको अनुगमनमा जफत गरिएको ७२२.५ किलोग्राम धानको बीउ नष्ट गरिएको हो ।
कावासोती ३ स्थीत नमुना सदरमुकाम निर्माण स्थलमा खाल्डोमा पुरेर बीउ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बिक्रम सुवेदी , वडा सदस्य ऋषी बस्ताकोटी लगायतको उपस्थीतीमा बीउ नष्ट गरिएको हो ।
अनुगमनका क्रममा हुप्सेकोटको सुजल एग्रोभेटबाट १३.५ किलोग्राम , बिनयी त्रिवेणीको सागर फिड एण्ड पोल्ट्री सप्लायर्स र किसान एग्रोभेटबाट ३८९ किलोग्राम र देवचुली नगरपालिका रजहरको चौधरी एग्रो सेन्टर र मंगल भेट फर्माबाट गरि ३२० किलोग्राम बीउ जफत गरिएको थियो । यी एग्रोभेटहरुले गोरखनाथ ५०९ , मोती गोल्ड , गोदावरी गंगा , जिके गंगोत्री , काँवेरी सोना , काँवेरी केपि १०८ सुपर सोना काँवेरी , बिपिपि ५२०४ जातको प्रतिबन्धीत तथा स्वीकृत नभएका बीउ बेचबिखन गरेको पाईएपछि जफत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जानकारी दिनुभयो ।
प्रतिबन्धीत तथा स्वीकृत नभएका बीउका कारण उत्पादनमा विभिन्न खाले समस्या आईरहेका कारण यसपाली बीउ राख्ने सिजन सुरु भएको हुँदा पहिले नै अनुगमन गरिएको प्रजिअ मनमाया पंगेनीले बताउनुभयो । एग्रोभेटहरुलाई पहिलो पटक भएकाले सम्झाई बुझाई छाडिएको यदि फेरी पनि यस्ता कृयाकलाप गरेमा कारवाही गरिने उहाँले बताउनुभएको छ । साथै उहाँले किसानहरु पनि यस्ता विषयमा चनाखो हुनुपर्ने र स्वीकृत बीउबीजनको मात्रै प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

Write your Comment