आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विवाह खर्च कटाएर लोककल्याणकारी अभियानका लागि सहयोग प्रदान

    प्रकाशित २०७८ बैशाख २८, मंगलबार (३ साल अघि)


राजु चापागाई, नवलपुर । कोरोना महामारीमा विवाह गरेका नवलपुरका एक जोडीले विभिन्न अभियानका लागि सहयोग गरेका छन् ।

जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव समेत रहेका कावासोती-१२ पिठौलीका दीपक शर्मा र कपिलवस्तु शिवराज नगरपालिका निवासी पुष्पा खनालले आफ्नो विवाह पश्चात गरिने भोज तथा अन्य खर्च कटाएर कोरोना महामारीको बेला समुदाय स्तरमा संचालित विभिन्न अभियानका लागि १७ हजार ७ सय ७६ रुपैयाँ सहयोग गरेका हुन् ।
उनीहरुले विवाह खर्च कटाइ देवचुली नगरपालिकामा स्थापना भएको खेम स्मृति प्रतिष्ठानका लागि अक्सिजन खरिद तथा आईसोलेसन निर्माणका लागि रु ५५५५, देवचुली नगरपालिका वार्ड नं १२ मा एम्बुलेन्स खरिद तथा अक्सिजन प्लान्ट निर्माण अभियानका लागि रु ५५५५, सबैका लागि हामी- महाअभियानका लागि रु ३३३३, भीसान नवलपरासीको छात्रवृत्ति कोषका लागि रु २२२२ र पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको आइसोलेसन निर्माणको लागि रु ११११ रकम प्रदान गरेका हुन् ।

लोककल्याणकारी अभियानमा सहयोग गर्न पाउँदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक सन्देश प्रवाहसहित सामाजिक उत्तरदायित्व बहन गर्दै सो रकम सहयोग गरेको दीपक शर्माले बताए । शर्मा र खनालबीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ विवाह भएको थियो । नव विवहित जोडीले अभियानका प्रमुख व्यक्तिहरुसँग समन्वय गरी रकम प्रदान गरेका थिए।

देवचुली वडा न १२ का अध्यक्ष दिनेश भुसालले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर आफ्नो वडामा संचालित एम्बुलेन्स खरिदका लागि तथा अन्य अभियानमा सहयोग गरेकोमा धन्यवाद दिदै बैबाहिक बन्धनमा बाधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिए ।

 

Write your Comment