आज:  २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025 Search
FLASH NEWS

मध्यविन्दु-१४ मा बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८२ मंसिर २२, सोमबार (२ घण्टा अघि)


नवलपुर । मध्यविन्दु-१४ मा बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोगमा, जिल्ला प्रहरी कार्यालय नवलपुर र मध्यविन्दु-१४ वडा कार्यालयको समन्वयमा आइतबार मध्यविन्दु नगरपालिका-१४, द्वारीस्थित रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो ।


बालक्लबकी अध्यक्ष सुस्मा बाह्रघरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराई प्रमुख आतिथ्यता र लैङ्गिक सम्पर्क शिक्षक पिमकुमारी कामु विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत तथा उद्देश्य प्रस्तुत गर्दै जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ३० जना किशोरीलाई प्रदान गरिएको तालिमबारे जानकारी दिइन्। उनले बालमैत्री स्थानीय शासनका सिद्धान्त तथा सरोकारवालासँग सहकार्य गर्दै बालमैत्री अभियानलाई अघि बढाइरहेको बताइन्।

त्यस्तै, किशोरी सशक्तीकरण कार्यक्रमकी साथी शिक्षक रितु घर्ती मगरले बाल अधिकार, किशोरी अधिकार, बाल विवाहका असर, राम्रो छुवाइ-नराम्रो छुवाइ, समस्या परेमा समन्वय गर्ने निकाय तथा बालक्लबको भूमिकासम्बन्धी महत्वपूर्ण विषयमा सहजीकरण गरिन्।


कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक विष्णु प्रसाद भट्टराईले वडा नं. १४ मा बालविवाह प्रमुख चुनौती भएकाले अभिभावक, बालबालिका तथा स्थानीय सरोकारवालाले जिम्मेवारीपूर्वक समस्या समाधानमा भूमिका निभाउनु आवश्यक रहेको बताए। उनले पहाडी क्षेत्रमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक भएको र बालबालिकाले अधिकारसँगै कर्तव्य पनि बुझ्नुपर्नेमा जोड दिए। कार्यक्रमको अध्यक्षता गरेकी बाल क्लबकी अध्यक्ष सुस्मा बाह्रघारेले बालविवाह र हिंसा विरुद्ध आवाज उठाउँदै विद्यालयमा कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ पाण्डे, प्राविधिक प्रकाश अर्याल, शिक्षकशिक्षिका तथा अभिभावकसहित ४७ जनाको उपस्थिति रहेको थियो ।

Write your Comment