आज:  २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025 Search
FLASH NEWS

मध्यविन्दु-१५ मा डिजिटल सुरक्षा सम्बन्धी सचेतनामुलक तालिम सम्पन्न

    प्रकाशित २०८२ मंसिर २०, शनिबार (२ घण्टा अघि)


नवलपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मध्यविन्दु नगरपालिका-१५, प्रसौनीस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शुक्रबार डिजिटल सुरक्षा सम्बन्धी सचेतनामुलक तालिम सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान, पिपिडिसी नेपाल, एशिया सेन्टर, कन्सोर्टियम नेपाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) तथा राष्ट्रिय बालमैत्री स्थानीय शासन फोरमको संयुक्त आयोजनामा तथा विद्यालयको समन्वयमा किशोरकिशोरीहरूलाई अनलाइन सुरक्षा र डिजिटल हिंसा न्यूनीकरणका विषयमा सचेतना गरिएको हो ।

बालक्लबकी सदस्य गोमा पाण्डेले अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी लैंगिक सम्पर्क शिक्षक रिना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । डिजिटल माध्यमबाट बालिका तथा महिलामाथि हुने हिंसा र दुर्व्यवहार बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर प्रोग्राम अफिसर राधा देवी बोटेले बताइन्। उनले कुनै पनि प्रकारको हिंसा वा दुर्व्यवहार थाहा पाएमा आफ्नो पहिचान सुरक्षित राखी सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह समेत गरिन्।

किशोरी सशक्तिकरण कार्यक्रमकी साथी शिक्षक ऋतु घर्तिले अनलाइन सुरक्षा, डिजिटल खतराका प्रकार, इन्टरनेटमार्फत हुने ठगी, जालसाजी तथा सुरक्षाका उपायबारे विस्तृत रूपमा सहजीकरण गरिन्। तालिमकै क्रममा सहायक प्रधानाध्यापक धन बहादुर घर्तीले बालबालिकामा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण बढ्दै गएको प्रलोभन र यौन दुर्व्यवहारका घटनाबारे आफ्ना अनुभव र जानकारी प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रमुख अतिथि रिना श्रेष्ठले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराधिक समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता घटनाबाट सचेत रहन सबैलाई आह्वान गरिन् । सभाध्यक्ष गोमा पाण्डेले तालिमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने स्पष्ट ज्ञान प्राप्त भएको बताउँदै आयोजक र प्रशिक्षकहरूप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर घर्ती, विद्यार्थी तथा जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रुपा भट्टराईको उपस्थिति रहेको थियो।

Write your Comment