आज:  २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025 Search
FLASH NEWS

एसईईमा ४ जीपीए ल्याउने सिम्जनालाई भीमसेनले गर्‍यो नगदसहित सम्मान

    प्रकाशित २०८२ श्रावण २८, बुधबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले एसईईमा ४ जीपीए ल्याउने सिम्जना भट्टराईलाई नगद सहित सम्मान गरेको छ । एसईई २०८१ को प्रारम्भिक नतिजामा ३.९६ ल्याएकी भट्टराईले नतिजा चित्त नबुझेपछि पुनर्योगको आवेदन दिएकी थिइन् । पुनर्योगको नतिजामा ४ जीपीए आएपछी भट्टराईको परिवार सँगै विद्यालयमा खुसियाली छाएको छ ।


भीमसेनद्वारा ४ जीपीए ल्याउने सिम्जनालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको हो । सम्मानसँगै भट्टराईलाई बाजागाजा सहित नगर परिक्रमा गरिएको हो । विद्यार्थीहरुलाई एसईई परीक्षा सुरु हुन पुर्व नै विद्यार्थीलाई हौसलाका लागि नगदसहित सम्मान गर्ने घोषणा गरेको र पुनर्योगको नतिजामा ४ जीपीए ल्याउन सफल सिम्जनालाई १ लाख रुपैयाँँ नगद सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताए । `विद्यालयमा ४ जीपीए ल्याउने पहिलो विद्यार्थी सिम्जनालाई मात्र होइन नतिजाले विद्यालय तथा समुदायमा खुसियाली छाएको छ,´ उनले भने ।

विद्यालयले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रम पुगेका देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले भीमसेनको नतिजाले पालिकाको नै गौरव बढाएको बताए । देवचुलीमा एसईई २०८१ मा ४ जीपीए ल्याउने ५ जना विद्यार्थी भएको र भट्टराईलाई नगरपालिकाले समेत सम्मान गर्ने नगर प्रमुख न्यौपानेले बताए । ` पालिकाको हरेक शैक्षिक गतिविधिमा भीमसेनको नतिजा उत्कृष्ट रहेको छ, अझै सफलता पाउने गरि अगाडि बढनका लागि शुभकामना छ,´ उनले भने ।


`३.९६ जीपीए आउँदा खुसी नै थिए तर मेहनत अनुसारको नतिजा नआउँदा पुनर्योगलाई आवेदन दिएकी थिए, नतिजामा ४ जीपीए आएपछी झन खुसी भए´ सिम्जनाले बताइन् । नतिजा ल्याउनका लागि विद्यालयका शिक्षकहरु, घर परिवारको साथ रहेको उनले बताइन् । `भीमसेनको इतिहासमै ४ जीपीए ल्याउने पहिलो विद्यार्थी बन्ने अवसर प्राप्त गर्दा यो अवस्थामा पुर्‍याउन सहयोग गर्नुहुने प्रति सम्मान व्यक्त गर्दछु, उनले भनिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछानेले राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक कारणले ३.९६ जीपीए ल्याएकी सिम्जनाले पुनर्योग गर्दा ४ जीपीए नतिजा प्राप्त भएको र नतिजा विद्यालयका लागि गौरवको विषय भएको बताए । विद्यालयको सबै तहको नतिजा उत्कृष्ट आएको र सबै जनाको सहकार्यमा मात्र यस्तो नतिजा आएको उनले बताए ।


भीमसेन आदर्श माध्यमिक विद्यालयबाट एसईई २०८१ मा ८६.५०% प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । जिल्लामै सबैभन्दा धेरै विद्यार्थी एसईईमा सहभागी भीमसेनबाट २०५ जना उतीर्ण भएका हुन् । उक्त विद्यालय एसईई परीक्षा २०८१ मा देवचुली नगरपालिकामा प्रथम भएको हो । सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएबापत विद्यार्थीलाई प्रोत्साहनका रुपमा भीमसेनद्वारा दिइएको रकम सम्भवत नेपालमै पहिलो सर्वाधिक रकम हो।

Write your Comment