नवलपुर । मध्यविन्दु नगरपालिका–३ मा वडास्तरीय बाल संजालका पदाधिकारीहरुलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले मध्यबिन्दु नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम अधिकृत राधाबोटेले बताउनुभयो ।
अभिमुखीकरण सत्रमा ‘बालबालिका भनेको को हो’, ‘बाल अधिकारको पृष्ठभूमि’, ‘बाल अधिकारका चार खम्बा’, ‘बाल क्लबको भूमिका र दायित्व’ साथै ‘बालमैत्री स्थानीय शासन’ सम्बन्धि विषयवस्तुमा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले संविधानमा पनि बाल अधिकारलाई मौलिक हकमा समावेश गरेकोले स्थानीय सरकार अझै जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । किशोरी अधिकार र किशोरी अधिकार संरक्षणको लागि बाल क्लबले खेल्नुपर्ने भुमिकाको बारेमा किशोरी अभियन्ता जेशिका महत्तो र शिवानी सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मध्यविन्दु-३ का वडाध्यक्ष मान बहादुर महतोले बाल क्लब र किशोर–किशोरीहरुले आफैं योजना बनाएर अघि बढ्ने कार्यक्रमहरुमा वडा कार्यालयले आवश्यक समन्वय र आर्थिक सहयोग गर्न सधैं तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
बालबालिकाले आफ्नो अधिकारसँगै समुदायमा हुने विभिन्न नकारात्मक गतिविधिहरु न्यूनीकरणमा पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रतीक नेपालले यस्ता कार्यक्रम बालबालिकाका लागि सिकाइ र सहभागिता अभिवृद्धि गर्ने अवसर भएको उल्लेख गर्दै आगामी दिनमा समेत वडामा यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम मध्यविन्दु वडा नं. ३ को कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको हो ।