देवचुली । देवचुली नगरपालिकामा सामुदायिक विद्यालयका अंग्रेजी विषय शिक्षकहरुका लागि कार्यशाला सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा दुई दिनको कार्यशाला शुक्रबारबाट संचालन गरिएको हो ।
दुई दिनसम्म संचालन हुने कार्यशालाले अंग्रेजी विषय अध्यापन गराउँदा आएका समस्याहरु आपसमा छलफल गरि समाधान गर्न सहयोग पुर्याउने देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो । देवचुली नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा मुख्य विषयहरु गणित, विज्ञान र अंग्रेजी विषयमा रहेका समस्या समाधानका लागि शिक्षकहरुलाई कार्यशाला राखिएकोमा गणित र विज्ञान विषयको कार्यशाला सम्पन्न भइसकेको साथै शुक्रबार र शनिबार हुने कार्यशालामा अंग्रेजी विषयमा भएका कठिनाइहरुलाई आपसमा छलफल गर्दा शिक्षकहरुलाई कक्षाकोठा सहज हुने उहाँले बताउनुभयो ।
कार्यशाला उदघाटन सत्रमा बोल्दै नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले कार्यशालाले शिक्षकहरुलाई सिकाई उपलब्धि हासिल गर्न सहज बनाउन उपयोगी हुने बताउनुभयो । कार्यशालालाई अंग्रेजी विषय रोष्टर शिक्षक गौरी ढकालले शिक्षकहरुलाई प्रशिक्षण सुरु गर्नुभएको थियो । देवचुलीका ५० जना भन्दा बढी शिक्षकहरुलाई सहजीकरण गर्दै ढकालले अंग्रेजी विषयलाई सहज र सरल रुपमा विद्यार्थीलाई सिकाउँदा सिकाई उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी, देवचुली नगरपालिका अंग्रेजी विभाग संयोजक तथा देवचुली माविका प्रधानाध्यापक विश्वराज पौडेल, अंग्रेजी विभागका सदस्यहरु लगायत विभिन्न शैक्षिक व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम उदघाटन सत्रमा देवचुली नगरपालिका अंग्रेजी विभाग संयोजक तथा देवचुली माविका प्रधानाध्यापक विश्वराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।