देवचुली । नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीद्वारा शैक्षिक सुधारका लागि देवचुली नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । आइतबार संगठनका प्रतिनिधिहरुले नगर प्रमुख हरिप्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाउँदै आगामी आर्थिक वर्षका लागि बन्दै गरेको निति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने कुराहरुको ध्यानाकर्षण गराएको हो ।
देवचुली नगरपालिकामा भावी नीति र कार्यान्वयन गर्नुपर्ने आवश्यकता बोध गरि पुर्वाधार विकास र मर्मत सम्भार, शिक्षक क्षमता विकास र प्रोत्साहन, विद्यार्थी प्रोत्साहन र सहभागिता तथा शैक्षिक गुणस्तर अनुगमन र मूल्यांकनका विषयमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीका अध्यक्ष हेराबहादुर केसीले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा विद्यालयको वर्तमान भौतिक अवस्था, विद्यार्थीको संख्याको अवस्था हेरी आवश्यक विद्यालयहरुमा कक्षाकोठा, खानेपानी, प्रयोगशाला, शौचालय आदिको निर्माण र मर्मत सम्भारको व्यवस्था मिलाउने, इसीडी कक्षाहरुलाई उच्च प्राथमिकता राख्न, शिक्षकहरुको लागि विषयगत ज्ञान, शिक्षण विधि, प्रविधिको प्रयोग, बाल मनोविज्ञान आदि सम्बन्धि तालिमको व्यवस्था मिलाउने, उत्कृष्ट शिक्षक पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिदैँ क्षेत्र फराकिलो र व्यवस्थित बनाउने, लागत सहभागिताको आधारमा एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु गर्न, प्रसुती सट्टा शिक्षकको रकममा समय अनुकुल वृद्धि गर्ने, आन्तरिक स्रोतबाट वेतन पाउने शिक्षक कर्मचारीको तलब नेपाल सरकारको सम्बन्धित तहको सुरुको तलबमान सरह बनाउन आवश्यक पहल गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्ने, नगरस्तरीय परीक्षा कक्षा ५ र आधारभूत परीक्षा कक्षा ८ मा ४ जिपिए ल्याउने विद्यार्थीलाई दिईने प्रोत्साहन स्वरुपको पुरस्कार थप गर्ने, एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई कम्तीमा १ लाखको पुरस्कारको व्यवस्था गर्ने, विद्यालयको शैक्षिक गतिविधि, शिक्षकहरुको कार्यसम्पादन तथा विद्यार्थी सिकाइ उपलब्धिको अनुगमन गर्ने कार्य नियमित गर्ने लगायत कार्यक्रमहरु पेश गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले संगठनले उठाएका कतिपय कामहरुलाई परिस्कृत गरिने र नीति तथा कार्यक्रममा समावेश गर्न सकिने कार्यक्रमलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष दोलकान्त अर्याल, सचिव सोमनारायण काफ्ले, कोषाध्यक्ष जनार्दन पौडेल लगायतको टोलीको सहभागिता रहेको थियो ।
देवचुली नगरपालिकामा बुझाइएको ज्ञापन पत्र