देवचुली । देवचुली नगरपालिकामा आइटी स्रोत शिक्षकहरुको लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा पालिका भित्र रहेका विद्यालयका आइटी शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि जेठ २७ गतेदेखि २९ गतेसम्म तालिम प्रदान गरिएको हो ।
शिक्षकहरुलाइ शिक्षण सिकाई क्रियाकलापलाइ आधुनिक प्रविधि सँग जोडेर शिक्षण गराउने, विद्यार्थीहरुलाइ खोजमुलक शिक्षण कार्य गराउन, शिक्षण सिकाई क्रियाकलापमा विद्यार्थीहरुलाइ प्राविधिक बिषयवस्तुको बारेमा बढी जानकारी गराउने उदेश्यले तालिमको सञ्चालन गरिएको देवचुली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । यस खालको क्षमता विकास तालिमले शिक्षकको विभिन्न क्षमतामा परिवर्तन ल्याई दैनिक प्रशासनिक काम लाई समेत थप सेवा पुर्याउने उहाँले बताउनुभयो ।
तालिमले परम्परागत शिक्षण पद्धतीलाई परिमार्जन गरि शिक्षण सिकाई कार्यलाई आधुनिक तर्फ लैजाने शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले बताउनुभयो । प्रत्येक वर्ष आइटी सम्बन्धी नयाँ–नयाँ प्रविधि आइरहने हुँदा समय अनुसार शिक्षकहरुलाई अद्यावधिक गर्दै लैजानका लागि नगरपालिकाले क्षमता विकास तालिम गर्दै आइरहेको उहाँको भनाई छ ।
तालिमलाई देवचुली नगरपालिकाका सुचना प्रविधि शाखा प्रमुख कृष्णहरि सापकोटा र देवचुली माध्यमिक विद्यालयका शिक्षक मिलन पौडेलले सहजीकरण गर्नुभएको थियो । तिन दिनसम्म सञ्चालन भएको तालिममा देवचुली नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३७ जना शिक्षकको सहभागिता रहेको थियो ।