आज:  २०८२ बैशाख २५, बिहिबार | Thu, 08, May, 2025 Search
FLASH NEWS

मध्यविन्दु नगरपालिकामा शिक्षकहरूलाई ’रियल प्लान’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

    प्रकाशित २०८२ बैशाख २५, बिहिबार (४ घण्टा अघि)


चोरमारा । विद्यालय शिक्षा सुधार तथा गुणस्तर अभिवृद्धिका लागि मध्यविन्दु नगरपालिकामा ’रियल प्लान’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । आज नगर भित्र रहेका सामुदायिक विद्यालयका कक्षा ३ देखि ५ सम्मका गणित तथा नेपाली विषयका शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा कोभिड–१९ पछिको सार्वजनिक शिक्षामा परेको सिकाइ क्षति पहिचान गर्दै सुधार गर्न अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भिमलाल अधिकारीले सिकाइ क्षतिको पहिचान र सुधारका लागि शिक्षकमैत्री योजना आवश्यक रहेको बताउनुभयो । “शिक्षकहरू शिक्षाको मेरुदण्ड हुन्। शिक्षक सक्षम र सचेत भए मात्र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न सकिन्छ। यस कार्यक्रमले शिक्षकमाझ नयाँ उत्साह भर्ने विश्वास लिएको छु,” नगरप्रमुख अधिकारीले भन्नुभयो ।

नेपाल सरकारले सिकाइ आपूर्तिसँगै द्रुत सिकाइ योजना अन्तर्गत ’रियल प्लान’ कार्यान्वयनमा ल्याएको र यही योजनालाई प्रभावकारी रूपमा लागू गर्न अभिमुखिकरण गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख पदम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, वि.सं. २०७६ पछि कोभिड–१९ लगायत विभिन्न महामारी, संकट र प्रकोपका कारण नियमित पठनपाठन अवरुद्ध भई विद्यार्थीको सिकाइमा क्षति पुगेको भन्दै त्यसको पूर्ति गर्न योजना ल्याइएको हो ।

त्यस्तै कार्यक्रममा हुप्सेकोट गाउँपालिका शिक्षा अधिकृत तेजचन्द्र खनालले अभिमुखिकरण गराउनु भएको थियो। कार्यक्रमका दौरान स्वागत मन्तव्य दिँदै शिक्षा शाखा अधिकृत बिपित क्षेत्रीले सिकेमन ज्ञान तथा विधिहरू व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । कक्षा ६ देखि ८ सम्मको शिक्षकहरुलाई भोलि दिइने शिक्षा अधिकृत कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

Write your Comment