आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गाउँमा सडक कालोपत्र हुँदा किर्तीपुर र बन्दिपुरका स्थानीय खुसी

    प्रकाशित २०८१ जेष्ठ ५, शनिबार (२ महिना अघि)


नवलपुर । नवलपुरको देवचुली नगरपालिका–५ बन्दिपुरका स्थानीय गाउँमा कालोपत्र सडक निर्माण हुँदा खुसी भएका छन् ।पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दूरीमा रहेको गाउँमा सडक निर्माण नहुँदा विकट थियो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक योजना’बाट गाउँमा कालोपत्र बाटो पुग्दा खुसी लागेको बिर्खबहादुर डिस्वाले बताउनुभयो ।

“केही वर्ष अघिसम्म बजारबाट निकट भएर पनि बाटो नपुग्दा विकट थियो, तीन चार घण्टा लगाएर डोकोमा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले आँगन छेउमा कालोपत्र सडक बनेको छ, फोन गर्ने बित्तिकै एम्बुलेन्स आँगनमै आउँछ”, डिस्वाले भन्नुभयो ।


मौलाथुम्कीका गिरीप्रसाद बराल बाटो नहुँदा भुँइकटहरदेखि यहाँ उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन नपाएको सम्झनुहुन्छ । “बर्खामा बाटो नहुँदा पाखाबारीभरि भुइँकटर कुहिने गर्दथ्यो, अब यसले पनि बजार पाउने भयो”, बरालले भन्नुभयो । यसबाहेक यहाँ उत्पादन हुने कृषि उपजले बजार पाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । सडक निर्माण पूर्व कीर्तिपुरदेखि बन्दिपुरसम्म सडकको ट्र्याकसमेत खोलिएको थिएन । करिब दुई सय मिटर क्षेत्रमा नयाँ ट्र्याक खोली दुई गाउँलाई जोडिएको हो ।

जिल्लाको अग्लो डाँडा देवचुली र बरचुलीको काखमा अवस्थित कीर्तिपुर, बन्दिपुर, मौलाथुम्कीसहितका छ गाउँका बासिन्दालाई प्रदेश सरकारको लगानीमा निर्माण भएको बाटोले सुविधा थपेको छ । गाउँमा कालोपत्र सडक निर्माणसँगै अन्य विकासका सम्भावना बढेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो ।

सुविधा नभएर गाउँ छाडी बजार झर्नेहरुको सङ्ख्यासमेत रोक्ने उहाँले बताउनुभयो । “पहिले बाटो नभएकै कारण विकट थियो, कति गाउँलेहरू सुविधा खोज्दै बजार झरे, अब एकै छिनमा बजार पुगिन्छ, सबै सुविधा क्रमशः गाउँमा आएको छ, बसाइँसराइसमेत कम हुन्छ भन्ने विश्वास छ”, वडाध्यक्ष सोतीले भन्नुभयो ।

सडकको सुविधा भएसँगै अब गाउँमै आयआर्जनलाई जोड्ने क्रियाकलाप गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँको शिरमा सबैभन्दा अग्लो डाँडा देवचुली पर्ने हुँदा पर्यटकीय सम्भावनासमेत रहेकाले त्यसैलाई लक्षित गरी योजना बनाउँदै जाने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको योजनाअनुसार आफ्नो पहिलो कार्यकालमा एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत देवचुलीको मुण्डेदेखि मौलाथुम्कीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य अघि बढाइएको प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले बताउनुभयो । यस योजनाले देवचुली–५ र ६ का आधा दर्जन गाउँलाई सुविधा भएको उहाँले बताउनुभयो ।

कालोपत्र सडकसँगै खानेपानीका योजना सम्पन्न भएको र सिँचाइका योजनासमेत अघि बढ्दै गरेकाले गाउँमा सुविधासहित आयआर्जनका क्रियाकलाप बढ्ने हुँदा गाउँ रित्तिने क्रम रोकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यस खण्डमा थप तीन पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसका लागि समेत पहल भइरहेको उहाँले बताउनुभयो ।

विसं २०७६ मा रु २८ करोड २३ लाखको लागतमा रायमाझी कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पारी काम अघि बढाएको थियो । विसं २०८१ असार मसान्तसम्म ठेक्काको म्याद रहेको यस योजनाको लगभग सबै काम सकिन लागेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताउनुभयो । रासस

Write your Comment