आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

देवचुली ६ मा महिलाहरुलाई उदघोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८१ बैशाख ५, बुधबार (१ हफ्ता अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा महिलाहरुलाई उदघोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । लाफा महिला समुहको आयोजना तथा देवचुली ६ वडा कार्यालयको सहयोगमा बैशाख २ गतेदेखि ४ गतेसम्म तालिम गरिएको हो ।

तीन दिनसम्म संचालन भएको कार्यक्रममा महिला सशक्तीकरण,बैठकको माइन्युट लेखन तथा उदघोषण लगायतको विषयमा सहजीकरण गरिएको वडा अध्यक्ष मिनबहादुर सोतीले जानकारी दिनुभयो । वडाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि महिला सशक्तीकरणका लागि विनियोजित रकमबाट तालिम गरिएको उहाँले बताउनुभयो । वडामा हुने कार्यक्रम संचालनका लागि तालिममा सहभागी महिलाहरूले अग्रसर हुनुपर्ने भएकाले सोही अनुसार सिकेका सीपहरु व्यवहारमा प्रयोग गर्नका लागि सहभागीलाई आग्रह गर्नुभएको थियो । वडाले महिलाहरुका लागि आगामी वर्ष पनि मागका आधारमा बजेट विनियोजन गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तालिममा महिला सशक्तीकरणको आवश्यकता, क्षमता अभिवृद्धि लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, माइन्युट लेखन र औपचारिक कार्यक्रम संचालन गर्ने लगायतका विषयमा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, महिला सशक्तीकरण तथा महिला शाखाबाट हुने कामहरुको बारेमा देवचुली नगरपालिका सामाजिक विकास शाखा प्रमुख विमला लम्साल , उदघोषण तथा भाषणकला सम्बन्धि पत्रकार दयाराम आचार्य र राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।

लाफा महिला समुहको अध्यक्ष देवकुमारी गाहाको अध्यक्षता भएको तालिमको समापन कार्यक्रममा देवचुली ६ का वडा अध्यक्ष मिनबहादुर सोती मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु दुर्गामाया बाचे मगर, गुमबहादुर थापा मगर, नरबहादुर ठाडा मगर, आमा समुहका प्रतिनिधि लगायत विभिन्न टोलका महिलाहरूको उपस्थितिमा रहेको थियो । समापन सत्रको कार्यक्रम संचालन वडा सदस्य मनकुमारी बिकले गर्नुभएको थियो ।

तालिममा सहभागी महिलाहरूले तीन दिनसम्म सिकाई उपलब्धि पुर्ण भएको बताए । देवचुली ६ का मुण्डे, कीर्तिपुर, कुमसोत, मिर्तुङ लगायतका गाउँबाट ५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

Write your Comment