आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

गण्डक नहरमा डल्फिन भेटियो

    प्रकाशित २०८० चैत्र १७, शनिबार (१ महिना अघि)


नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ । शुक्रबार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिए ।

केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँध सम्म आईपुगेको निमित्त प्रमुख चौधरीले बताए । उनका अनुसार उक्त डल्फिन अनुमानित ७०/७५ किलोको थियो भने लम्बाई ६ फिट बढी थियो ।

पछिल्लो समय नारायणी नदीमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मीहरुले बताएका छन् । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ ।

एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

Write your Comment