आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ५ मा विपन्नलाई घर हस्तान्तरण

    प्रकाशित २०८० चैत्र ७, बुधबार (४ महिना अघि)


देवचुली। देवचुली ५ मा देवचुली नगरपालिकाको सहयोगमा निर्माण गरिएको घर परिवारलाई हस्तान्तरण गरिएको छ । देवचुली नगरपालिकाको ४ लाख ४० हजार रुपैयाँको सहयोगमा देवचुली ५ ड्वाटे टोलका अशक्त तथा विपन्न मानबहादुर सार्कीको घर निर्माण गरिएको हो । सार्कीका ७ जना परिवार बस्दै आएको घर केही वर्ष अघिको हावाहुरीले क्षति पुर्‍याएको थियो।

२ कोठे टिनको जस्ता लगाएर सम्पन्न गरिएको घरलाई बुधबार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपालेले सार्कीलाई गृह प्रवेश गराई घर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाले भुमिहीन सुकुम्बासी र विपन्न नागरिकका सवालमा प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । केही महिना अगाडि विपन्न सार्कीको घर अवलोकन गर्नुभएका नगर प्रमुख न्यौपानेले नगरपालिकाद्वारा घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही अनुसार नगरपालिकाबाट सहयोग गरि घर निर्माण गरि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि नगर उप प्रमुख पार्वता तिवारी, देवचुली ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्री, कार्यपालिका सदस्य विद्या विश्वकर्मा,देवचुली ४ र ५ का वडा सदस्यहरु, देवचुली नगर भुमि सहजीकरण समितिका सदस्य खिमानन्द भुसाल, देवचुली मानव अधिकार समुहका अध्यक्ष कृष्णबहादुर बिक लगायत सामाजिक व्यक्तित्व र स्थानीयको उपस्थिति रहेको थियो ।

देवचुली नगरस्तरीय भुमी सहजीकरण समितिका सदस्य खिमानन्द भुसाल, देवचुली मानव अधिकार समुहका अध्यक्ष कृष्ण बिकले नगरपालिकाबाट विपन्न सार्कीको घर निर्माण गरेकोमा धन्यवाद दिदैँ नगरले विपन्न समुदायलाई प्राथमिकता राखी काम गर्न अनुरोध गर्नुभएको थियो ।

आफुहरु निर्वाचित भएपछी विपन्न सार्कीको घर निर्माणका लागि वडा सदस्य नरबहादुर थापा तथा स्थानीयले जानकारी गराइरहेता पनि स्रोत नहुँदा बनाउन नसकिरहँदा नगरपालिकाले सहयोग गरि घर बनाइएको देवचुली ५ का वडा अध्यक्ष कृष्ण सापकोटाले बताउनुभयो । नगरपालिकाको सहयोगमा २ कोठे घर र १ वटा शौचालय निर्माण गरिएको छ। बुधबार नै सार्कीको घरमा लाई भान्सा निर्माणका लागि कार्यक्रममा उपस्थिति भएका सामाजिक व्यक्तित्वबाट १६ हजार रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ।

Write your Comment