आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

राजन पौडेलको नयाँ पुस्तक `अनिदो मन´ सार्वजनिक

    प्रकाशित २०८० चैत्र ५, सोमबार (१ महिना अघि)


भरतपुर।चितवनका स्रस्टा राजन पौडेलको नयाँ पुस्तक `अनिदो मन´ सार्वजनिक भएको छ ।सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरी कृति सार्वजनिक गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन् । पुस्तकमा २३० वटा मुक्तक छन् । मूल्य ४००/- रुपैयाँ छ ।

कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा स्रस्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेका थिए । ५० को दशकको अन्त्य र ६० को सुरुवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए । सोही क्रममा पौडेलले कृतिमा रहेका मुक्तक वाचन गरेका थिए ।

स्रस्टा पौडेल भरतपुर- ८ गौरीगञ्जका स्थायी बासिन्दा हुन् । उनी पछिल्लोसमय क्यानडामा बसोबास गर्दै आएका छन् ।

प्रेमवस्ती मावि भरतपुर-७ बाट २०४७ सालमा एसएलसी पास गरेका पौडेल विद्यालयकालबाटै कविता लेखनमा लागेका थिए । पौडेलले पक्लिहवा क्याम्पस रुपन्देहीबाट कृषिमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका हुन् । त्यसपछि रामपुर क्याम्पसबाट कृषिमा स्नातक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाटै स्नातकोत्तर गरेका हुन् ।

सिटिइभिटी अन्तर्गत दिपायल, धनकुटा र चितवनमा करिब १५ वर्ष जागिर गरेका पौडेल पछिल्लो ४ वर्षदेखि परिवारसहित क्यानडमा छन् ।

नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेख्ने गरेका थिए । पौडेलका यसअघि `गजलपथका यात्रीहरू´ र `गजल बिम्ब´ गरी २ वटा संयुक्त गजलसङ्ग्रह तथा `आधारभूत मत्स्यपालन´ र सहलेखनका रूपमा `कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि´ गरी ४ वटा कृति प्रकाशित छन् । ५० को दशकमा पौडेलका सिर्जना रेडियो नेपाल तथा राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा प्रशारण, प्रकाशन हुन्थे ।

पौडेलको पाँचौँ कृति अनिदो रात १२६ पृष्ठमा छ । बाक्लो गातामा प्रकाशन गरिएको पुस्तकको मूल्य ४०० रुपैयाँ छ । सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

Write your Comment