आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुलीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८० फागुन २४, बिहिबार (७ महिना अघि)


देवचुली। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देवचुली नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “महिलाहरूमा लगानी सभ्य र समुन्नत समाजको थालनी” विषयक वक्तृत्वकला प्रतियोगिता बिहीबार नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको हो ।

देवचुली नगरपालिकाका वडाबाट सहभागी भएका ८ जना महिलाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा देवचुली ९ की तारा काफ्ले भुसाल प्रथम हुनुभएको छ भने देवचुली ३ की गोमा तिवारी द्वितीय हुनु भएको थियो । त्यसै गरि देवचुली १३ की शर्मिला सापकोटा तृतीय हुनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा कालिका माविका शिक्षिका सीतादेवी पौडेल, भीमसेन आदर्श माविका शिक्षक करन खडका र जन ज्योति माविका इश्वरी खनाल रहनुभएको थियो ।

देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भुमिसरा आलेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरु, महिला सहकारी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उप प्रमुख पार्वता तिवारीले महिलाहरुमाथि हुने हिंसाका घटनाहरु बढिरहेको र आफ्नो अधिकारका लागि लडिरहनु परेको बताउनुभयो । बोलीमा मात्र अधिकार दिने कुरा गर्नुभन्दा व्यवहारमा लागु गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो । महिलामाथि हिंसा भए तुरुन्त कानुनी उपचारमा जानुपर्ने र नगरमा न्यायिक समितिमार्फत हिंसामा परेका महिलाहरुलाई न्यायका लागि पहल गरिने उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले महिलाहरुका लागि आवश्यक कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्मा, दिव्यपुरी महिला स्वालम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेनुका न्यौपानेले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य पार्वती अर्याल कंडेलले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो भने महिला विकास शाखा प्रमुख विमला लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य फुलमाया बिकले गर्नुभएको थियो ।

Write your Comment