आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अन्तर विद्यालय यु- १६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता : जन ज्योति माविको विजयी सुरुवात

    प्रकाशित २०८० माघ १५, सोमबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा युनिक बोडिङ्ग स्कुललाई २९० रनले हराउँदै जन ज्योति माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गते देखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोट समेत गरिने आयोजकले जनाएको छ।

सोमबारको खेलमा पहिलो ब्याटिङ गरेको जन ज्योति माविले आकाश रानाभाटको १४५ रन र शुभम भण्डारीको १२९ रनको विष्फोटक ब्याटिङको मदतले २० ओभरमा ४ विकेटको क्षतिमा ३४८ रन बनाएको थियो। युनिक बोडिङ्ग स्कुलका गगन कंडेल र हिमेश पराजुलीले १/१ विकेट लिएका थिए।

त्यसै गरि जवाफी ब्याटिङ गरेको युनिक बोडिङ्ग स्कुलले ८.२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनाएको थियो । युनिकबाट गगन कंडेलले १५ रन र सुशान्त तिमिल्सिनाले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन सकेनन् । खेलमा जन ज्योति माविका करन सुनार र अमृत भुसालले २/२ विकेट लिएका थिए। आजको खेलमा ४५ बलमा १४५ रन बनाउने जन ज्योति माध्यमिक विद्यालयका आकाश रानाभाट प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी,बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल जीवन ज्योति माध्यमिक विद्यालय कावासोतीका विरुद्ध देवचुली माध्यमिक विद्यालय देवचुली र दोस्रो खेल वरचुली माध्यमिक विद्यालय देवचुलीका विरुद्ध लक्ष्मी माध्यमिक विद्यालय गैंडाकोटबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए।

Write your Comment