आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नारायणगढ–बुटवल सडकखण्ड : काम आधा मात्रै, दोस्रोपटक थपिएको म्याद सकिन ६ महिना मात्र बाँकी

    प्रकाशित २०८० माघ १०, बुधबार (३ महिना अघि)


नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार योजना नवलपुर खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना नवलपुर खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी छ भनीरहँदा, उक्त आयोजनाको ५५ प्रतिसत काम अझै बाँकी देखिन्छ ।

२०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताए । यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उनले बताए ।

हालको भौतिक प्रगतिलाई हेर्ने हो भने समयमा सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तीमा नौ प्रतिशतका दरले प्रगति गर्नुपर्ने हुन्छ । तर कामको गति असाध्यै न्यून रहेको योजना प्रमुख मगरले बताए । ‘हामीले बारम्बार कामको गति बढाउन निर्देशन गरिरहेका छौँ, तर गति असाध्यै कम छ’, योजना प्रमुख मगरले भने, ‘हामी खरायोको गतिमा दौडिनुपर्ने अवस्था छ, तर गतिचाहिँ कछुवाकै छ ।’

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनलाई अहिले प्रयोग गरेको जनशक्ति र मेसिन अपर्याप्त रहेको जनाउँदै पर्याप्त साधन स्रोतको प्रयोग गरी तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन गरिरहेको उनले बताए । जुन गतिमा प्रगति हासिल गर्नुपर्ने हो त्यसो हुन नसकेको र निर्माणको गति न्यून रहेकाले कामको प्रगति बढाउन निर्देशन गरिरहेको उनको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक मध्यपूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र दुई लेन सडक निर्माण सम्पन्न भएको छ । पुलको भाग छाडेर दुई लेनको हिसाब गर्दा करिब एक सय २५ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । यस हिसाबले अझै एक सय किलोमिटर बढी कालोपत्र गर्नुपर्ने काम बाँकी छ । ‘एकतर्फीको हिसाब गर्दा करिब २१ किलोमिटर कालोपत्र गर्ने काम सकिएको छ’, योजना प्रमुख मगरले भने, ‘सय किलोमिटरभन्दा धेरै कालोपत्र गर्न अझै बाँकी छ ।’

साउनभित्रमा सबै काम सक्नेगरी निर्देशन गर्नुका साथै जनताको सुविधालाई ध्यानमा राखेर पहिला एकतर्फी कालोपत्र काम गर्न भनिएको योजना प्रमुख मगरले बताए । ‘साउनभित्र सबै काम सम्पन्न गर्नुपर्ने भनेका छौँ’, त्यसमा पनि पहिला ६५ किलोमिटर एकतर्फी सक्नुपर्छ भन्ने निर्देशन गरेका छौँ, यस्तो गरियो भने अलि चाँडै यात्रा सहज हुन्छ भन्ने हो’, उनले भने ।

उनका अनुसार ठूला १२ पुल निर्माण गर्नुपर्नेमा सबैको काम जारी छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा २१ वटा पुलको काम सकिएको र अब एउटाको मात्रै काम बाँकी छ । गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माणको काम चलिरहेको छ ।

करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । साथै निर्माणको काम नसकिँदा धुलोले यात्रु तथा राजमार्ग आसपासका बासिन्दा पीडित बनेका छन् । धुलोका कारण व्यापार व्यवसायसमेत प्रभावित भएको ब्यापक जनगुनासो सुनिन्छ ।रासस

Write your Comment