आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

इच्छाकामना मन्दिर पुग्ने धार्मिक पर्यटक बढे

    प्रकाशित २०८० पौष २७, शुक्रबार (३ महिना अघि)


चितवन।मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर चितवनको इच्छाकामनालाई चिनिन्छ । इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । यस मन्दिरमा पछिल्लो समय दर्शन गर्न र घुम्न जाने पर्यटकको संख्या बढदै गएको छ ।

मन्दिरको पुनःनिर्मिाणपछि यहाँ दर्शन गर्न आउने पर्यटक बढेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँ नेपाली मात्र नभएर भारतबाट आएका पर्यटकहरु पनि दर्शनका लागि मन्दिरसम्म पुग्ने गरेका छन ।

‘मन्दिर निर्माणपछि आकर्षक देखिएको छ,उहाँले भन्नुभयो,यहाँबाट गणेश लगायतका हिमालको सुन्दर दृश्यावलोकन समेत गर्न पाइन्छ ।’ शुक्रबार र शनिवारको दिन यस क्षेत्रमा दर्शन गर्न र पिकनिक खान आउनेहरु बढेको अध्यक्ष गुरुङले बताउनुभयो । फिस्लिङबाट मोटरसाइकलको यात्रामा पनि यहाँ घुम्ने आउने युवायुवतीहरु प्रशस्तै भेटिने गरेको उहाँले बताउनुभयो । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो । मन्दिर क्षेत्रमा खान बस्नका लागि नयाँ घरबास (होमस्टे) र रेष्टुरेष्ट सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरिरहेको उहाँले जानाकरी दिनुभयो ।

इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको प्रचारप्रसार बढेपछि पर्यटकको संख्यामा बृद्धि हुँदै गएको बताउनुभयो । उहाँका अनुसार फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरु मन्दिर जाने गरेका छन । उहाँले मन्दिरको संरक्षण र विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै सवै तहका सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।

मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा ठूलो मेला लाग्छ । मन्दिरसम्मै सडक पुगेसँगै भक्त्तजनलाई आवागमन सहज भएको छ । उहाँले भारतीय पर्यटकहरु समेत मन्दिर दर्शनका लागि आउन थालेको जानकारी दिनुभयो ।

इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जंगलले ढाकेको छ । फागुन/चैत ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रेसम्म देख्न सकिन्छ । इच्छाकामना गाउँपालिकामा पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको चेरेस, याक्राङटार, हात्तीवाङ, दाहाखानीजस्ता पर्यटकीय महत्वका स्थल छन् ।

Write your Comment